रिबन

नागरिकता विधेयक पारित हुन्छ, राष्ट्रपति र संसदबीच टकराव हुनु जायज हाेइन : मन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने दावी गरेका छन् । आज (शनिबार) सुनसरीको वराहक्षेत्र नगरपालिका-१० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले संसद्ले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुनः पठाउने जानकारी दिए ।

उनले यस पटक भने नागरिका विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए । मन्त्री कार्कीले यो टकरावको बेला नभएकोले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताएका छन् । उनले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको बताए ।

मन्त्री कार्कीले भने, ‘नागरिकता विधेयकलाई संसद्को दुवै सदनबाट पारित गराएर राष्ट्रपति कहाँ प्रमाणिकरणका लागि पठाइएको थियो । तर अहिले राष्ट्रपति जीले केही सुझावसहित त्यो विधेयकलाई फिर्ता गर्नुभएको छ । त्यो विधेयकलाई फेरि प्रतिनिधि सभाले अगाडि जसरी पारित गरेको थियो । त्यसरी नै पारित गरेको छ । अब राष्ट्रिय सभामा पारित हुनेछ । कतिपय पत्र पत्रिकामा मैले देख्ने गर्छु । कतिपय ठाउँहरुमा मैले टिप्पणी भएको सुन्ने गरेको छु । अब संसद र राष्ट्रपतिको बीच टकराव आयो । यो टकरावको बेला होइन । हामीले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर लिएर जानुपर्ने अहिलेको हाम्रो मुलुकको जिम्मवारी हो ।

उनले थपे, ‘त्यो जिम्मेवारी पूरा गर्नका निमित्त संविधानले जुन परिकल्पना गरेको छ । राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार छ, त्यसैले भन्ने गरिन्छ राष्ट्रपति संस्थाबाट गल्ती हुँदैन । अब चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकता विहीनको समस्या अन्त्य हुनेछ ।’ मन्त्री कार्कीले चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकता विहीनको समस्या अन्त्य हुने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *