काठमाडौं।नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले आगामी चुनावमा पार्टीको भागमा सय सिट राखेर देशैभर गठबन्धन गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा कांग्रेसले सय सिट नपाउने भए गठबन्धन नगर्न कार्यदलका सदस्यहरुलाई सुझाव दिएका हुन्।
सिट बाँडफाँड कार्यदलको बैठक अगाडि बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुने सुझाव दिएको एक पूर्व पदाधिकारीले जानकारी दिए। बैठकमा अधिकांश नेताहरुले कांग्रेसले सय सिट नपाउने हो भने आन्तरिक व्यवस्थापनमा समस्या आउने समेत बताएका थिए।
केही नेताहरुले गठबन्धन गर्दा कांग्रेसले १०६ सिट जित्ने अवस्था रहे पनि सुरुमै ६०–४० को कुरा गरेर कांग्रेसलाई कमजोर पार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए। ती नेताहरुले सभापति देउवालाई गठबन्धनका नाममा अन्य दलहरुलाई ६०–४० प्रतिशतको पोजिसनमा गठबन्धन गर्ने बचन दिइसकेको हो भनी प्रश्न समेत गरेका थिए। तर, बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने यसबारे केही बोलेनन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फबाट गठबन्धनको कार्यदलमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताए। उनले उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए।




