समाचार

नारायणकाजीकाे तालमेल प्रस्तावमा ओलीको जवाफ : ‘त्यो पार्टीमा किन हुनुहुन्छ ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको वामपन्थी तालमेलको प्रस्तावको जवाफ दिएका छन् ।

शनिवार काठमाडौँमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था स् चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा नेता श्रेष्ठले गरेको तालमेलको प्रस्तावमा अध्यक्ष ओलीले आफ्नै विचारमा पार्टीलाई पुर्‍याउन आग्रह गरे ।

श्रेष्ठले वामपन्थी तालमेलमा जोड दिँदै त्यसका लागि सबैले आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

त्यसैको जवाफमा ओलीले जे भनेपनि ताली बजाउने गरेर मात्रै नहुने भन्दै नेताको हिसाबले आफ्नो विचार पार्टीमा पुर्‍याउने भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘जे भनेपनि ताली बजाउने गरेर मात्र भएन, गठबन्धनभित्र सहीका लागि लड्नुपर्‍यो । लड्ने मात्र होइन, विचार व्यक्त गरेर छाड्ने मात्र होइन, एउटा नेताका हिसाबमा तपाईंहरुको कर्तव्य हुन्छ कि आफ्नो विचारमा आफ्नो पार्टी र गठबन्धनलाई पुर्‍याउने ।’

त्यस्तै, उनले विचार पार्टीमा पुर्‍याउन सकिन्न वा विचार मिल्दैन भने पार्टीमा अल्झिनुको तुक नभएको समेत बताए । उनले भने, ‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो । पार्टीलाई पुर्‍याउनु हुन्न र विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरू ? पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *