स्थानीय तह निर्वाचन-२०७९

बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै, सुरक्षा व्यवस्था कडा

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो ।

बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूणर् रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब एक हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा स्रोतका अनुसार मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइनुका साथै मंगलबारदेखि संयुक्त सुरक्षा टोलीले गस्ती समेत गरिरहेका छन् ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निणर्य गरेको थियो । यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *