काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर पदमा पराजित भएका उनले दोस्रोपटक पनि आकांक्षा देखाएका थिए ।एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असुन्तष्टि व्यक्त गर्दै उनले राजीनामा दिएका छन ।
यादवले राजीनामा पत्रमा मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिएको भए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकाले उनले आपति जनाएका छन ।
उनले भने ‘म ४० वर्षदेखि कांग्रेसमा आबद्ध छु, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो । ’
यादव संस्थापन इतर पक्षका हुन् । कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उनी असन्तुष्ट भएका छन । इस्तियाक राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए भने उनी संविधानसभा सदस्यसमेत हुन् ।




