काठमाडौं । महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक मंगलबार रातिदेखि बुधबार बिहान साढे २ बजेसम्म बस्दापनि सहमति भने जुट्न सकेन ।
गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि गम्भीर छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि आज बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो ।
अन्तिम सहमति हुन नसकेपनि बैठक निष्कर्ष नजिक पुगेको सहभागी नेताहरुले बताएका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताए ।
मंगलबारको बैठकमा ६ महानगरमध्ये काँग्रेसले ३ र बाँकी दलले एक एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ । उपमहानगरमा भने अन्तिम सहमति नजुटेपछि ैठक आज पनि बस्ने भएको हो ।




