काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ।
केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन्। आज विहान साढे ११ बजे बस्ने बैठकले गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।
रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । नेता शेखर कोइराला समूह भने तालमेलको विपक्षमा छ ।
यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापतिसहित २७ जनाले आफ्नो धारणा राखेका थिए। केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन्।
स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ ।




