काठमाडौं । नेकपा एमाले फुट्दा बामेदव गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा थियो । उनले त्यही संकेत पनि गरेका थिए । तर, गएनन् । गौतम अहिले हराएका जस्तै छन् । तर, चुप बसेका छैनन् । उनी भित्र भित्र कम्युनिस्ट एकता अभियानमा लागेका छन् ।
नेकपा एसमा नलागेका गौतम नेकपा एमालेमा नभएको घोषणा गरेका छन् । तर, एमालेले उनलाई उपाध्यक्षकै रुपमा राखेको छ । १०औं महाधिवेशनपछि भने उनी कुनै पदमा रहने छैनन् ।
गौतम कुनैबेला एमालेका शक्तिशाली नेता थिए । उनले एमाले फुटाएर माले बनाएको इतिहास पनि छ । दुईपटक गृहसहित उपप्रधानमन्त्री बने । हक्की स्वभावका उनी केपी शर्मा ओली र माधवकुमार नेपालसामु भने कमजोर देखिए ।
गौतमको प्रधानमन्त्री बन्ने चाहना अझै पूरा भएको छैन । उनी सरहका नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बने । तर, गौतम बन्न सकेनन् । उनले प्रयास भने छाडेका छैनन् । गएको आमनिर्वाचनमा जाँदा गौतम प्रधानमन्त्रीका दाबेदार जसरी गएका थिए । तर, चुनाव हारेपछि त्यो सम्भावनाको ढोका बन्द भयो ।
अहिले गौतम रणनीतिक तरिकाले कम्युनिस्ट एकता बनाउने र त्यसको जस लिने गरी बढेका छन् । कम्तिमा नेकपा माओवादी केन्द्र, नेकपा एससहित कम्युनिस्ट घटकहरु एक बनाएर चुनावमा जाने वातावरण तयारीमा लागेका छन् । उनी बलियो गठबन्धन या केही कम्युनिस्ट पार्टीको एकताबाट बनेको शक्तिमा जाने सम्भावना बलियो छ । तर, ओली नेतृत्वको नेकपा एमालेमा फर्कने सम्भावना कम छ ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिदै नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले चितवनमा मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। निर्विकल्प अध्यक्ष हुने ओली चाहानालाई धक्का दिदै रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले देश, जनता र पार्टीको सामू भएका र आउनसक्ने चुनौतीहरुको सामना गर्न आफूले उम्मेद्वारीको घोषणा गरेको बताए। उपाध्यक्ष रावलले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको बताए।
उपाध्यक्ष रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोप समेत लगाए। ओलीले अब पार्टीलाई नेतृत्व दिन नसक्ने भएकाले नै आफू अघि सरेको उनको भनाइ छ।
उपाध्यक्ष रावलले नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकतावद्ध, सुसंगठित र समयका चुनौतिहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन महत्वपूर्ण हुने बताए। उनले आफूलाई पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न पार्टी कार्यलयमा ठाउँ नदिइएको गुनासो गरेका छन्। महासचिवले महाधिवेशनका कारण कुनै पनि कोठा खाली नभएको जानकारी दिएपछि बाहिर पत्रकार सम्मेलन गर्नुपरेको बताए।




