काठमाडौं । यतिबेला दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ नेपाल भ्रमणमा छन् । उनीहरु मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामा सहमति जुटाउन नेपाल आएका हुन भन्ने विषयमा कुनै विवाद रहेन । नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटमा भएको संवादले यसको पुष्टि गरेको छ ।
एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु को धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएकाे छ । एमसीसी पास नभए अमेरिकाले दिँदै आएको अन्य सहयोग समेत रोक्ने चेतावनीयुक्त अभिव्यक्तिलाई नेपालका राजनीतिक दलले कसरी लिन्छन् त्यो उनीहरु फर्केपछि थाहा हुनेछ ।
मन्त्री लुले नेपालका राजनीतिक दलका जति नेतालाई भेटे सबैसँग एमसीसीबारे नै कुरा राखेको बुझिएको छ । एमसीसीका बारेमा असहमति राखेका नेपालका कम्युनिष्ट नेताहरुले अझै पनि कुटनीतिक जवाफ दिएका छन् । यसलाई अमेरिकाले कसरी लिन्छ त्यो समयले बताउला ।
एमसीसी बारेमा नेपालका राजनीतिक दलहरुबीच मत बाझिएकाले संसदमा प्रवेश पाउन सकेको छैन । अब बस्ने संसदको बैठकमा उक्त परियोजनाबारे सहमति जुटाउन अमेरिकी दुई मन्त्रीको भ्रमणले के रिजल्ट देला त्यो हेर्न बाँकी नै छ ।




