काठमाडौं । हिमाली बाहेकका जिल्लामा आज नेपाली कांग्रेसकाे प्रदेशसभा अधिवेशन हुदैछ । प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा आउने छन ।
पहिलोपटक प्रदेशसभा अधिवेशन गर्न लागेको कांग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिन लागेको हो ।
‘पहिलोपटक हुन लागेको प्रदेशसभा अधिवेशनमा प्रत्येक प्रदेश क्षेत्रबाट २७ जनाको कार्यसमिति चयन हुनेछ,’ निर्वाचन समितिका सचिव केशव रिजालले भने, ‘३३० वटा प्रदेशसभाबाट आउनेको संख्या करिब ९ हजार हुनेछ, यो पुरै नयाँ नेतृत्व हो ।’ उनकाअनुसार एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सह-सचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् भने नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत अर्थात ४ जना मनोनित गर्नेछन् ।
सर्लाहीसहित केही वडामा अधिवेशन हुन नसकेकाले ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन भने नहुने सम्भावना देखिएको छ । ‘सर्लाहीलगायत केही जिल्लामा वडा र स्थानीय तहको अधिवेशन हुन नसकेकाले ३३० प्रदेशसभामा अधिवेशन हुन नसके पनि गराउने प्रयत्न जारी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । उनकाअनुसार ३ मंसिरमा सम्पन्न हुन प्रदेशसभा अधिवेशन हुन नसकेमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउनेछ ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति पदका उम्मेदवारका लागि ५ हजार, उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पाउने छन् ।




