राजनीति

देउवा प्रधानमन्त्री बनेपछि कूटनीतिक सम्बन्ध चलायमान

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कूटनीतिक सम्बन्ध चलायमान बनेको विश्लेषण गरिएको छ । छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धमा मात्र होइन, यूरोप र अमेरिकासँगको कूटनीतिक सम्बन्ध नयाँ स्वरुप ग्रहण गरेको बताइन्छ ।

प्रधानमन्त्री देउवाको बेलायत भ्रमणपछि विभिन्न राष्ट्रप्रमुखसँगको भेटघाट र सम्वादले नेपालको कूटनीतिक सम्बन्ध थप चलायमान भएको बताइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता, अमेरिकी राष्ट्रपति जो वाइडेनसँगको भेट, तथा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको प्रस्तुतिले नेपालको कूटनीतिक सम्बन्धको उचाइ चुलिइएको हो ।

प्रधानमन्त्री देउवाले नियुक्त गरेका भारत, अमेरिका र बेलायतका राजदूतहरु विवादरहित बने । संसदीय सुनवाइमा उनीहरुविरुद्ध उजुरी परेन । कूटनीतिक सम्बन्धलाई उचाइ दिन अनुभवी र परिपक्व राजदूत चाहिन्छ भन्ने सन्देशसमेत गएको छ ।

यतिबेला विभिन्न देशका प्रतिनिधिहरुको उच्चस्तरीय नेपाल भ्रमणले नेपालको कूटनीतिक सम्बन्ध चलायमान बनेको उदाहरण हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको आजबाट नेपाल भ्रमण भएको छ । उनी दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् । लू एशियाली मूलका अमेरिकी हुन् । उनले अमेरिकी विदेश मन्त्रालयको कर्मचारीका रुपमा भारत र पाकिस्तानमा समेत काम गरेका थिए । ओबामा राष्ट्रपति हुँदा अल्बानिया र किर्गिजस्तानको राजदूत समेत भएका थिए ।

लू आएको भोलिपल्ट अर्थात बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि आउँदैछिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *