चैनपुर । संखुवासभा कांग्रेस जिल्ला सभापतिमा पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी राइबहादुर राईलाई भारी मतअन्तरले पराजित गर्दै खड्का जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । खड्काले १ हजार १ सय ९८ मत ल्याउँदा राईको पक्षमा १ सय १० मत मात्र परेको थियो ।
नेपाल विद्यार्थी संघको राजनीतिक पृष्ठभूमि बोकेका खड्का जिल्लामा लोकप्रिय नेताको रुपमा परिचित छन् । कांग्रेस पारिवारिक लिगेसीसमेत बोकेका खड्का २०७० सालको संविधानसभामा निर्वाचित भएका थिए । नेपाली कांग्रेसले २०१५ सालमा मात्र संखुवासभामा जितेको थियो । त्यसयता खड्का नै पहिलो निर्वाचित सांसद हुन् ।
संघीय संसदको गत निर्वाचनमा खड्का झिनो मतले पराजित भएका हुन् । कम्युनिष्ट गठबन्धन हुँदा पनि उनले सम्मानजनक हार व्यवहोरेका थिए । प्रष्ट विचार र समन्वयमा अब्बल ठानिएका नेता खड्का केन्द्रीय राजनीतिमा समेत प्रभाव राख्छन् ।
यसैगरी उपसभापतिमा रामकुमार जिमी र अनन्त गौली निर्वाचित भएका छन् । जिमीले ९ सय १६ मत प्राप्त गरे भने गौलीले ६ सय ७९ मत पाएका थिए । उनीहरुका प्रतिस्पर्धी शेरबहादुर बमले ५ सय ८२ मत पाए ।
सचिवमा कुमारबाबु अधिकारी र टकमान घले निर्वाचित भए । घलेले १ हजार ४५ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ४३ मत ल्याएर निर्वाचित भए । सचिवका अर्का प्रत्यासी छत्रमणि काफ्लेले ४ सय ९ मत पाए । सहसचिवमा किशोरकुमार गुरुङ र सुवास कालाखेती निर्वाचित भए । गुरुङले ६ सय ६७ मत पाए भने कालाखेतीको पक्षमा ६ सय ५ मत खस्यो । सहसचिवमा ६ जनाले मनोनय गराएका थिए ।
खस आर्यबाट अर्जुनकुमार बस्नेत र उत्तम दाहाल जिल्ला सदस्यमा निर्वाचित भए ।






