समाचार

ओलीले अध्यक्ष पद नछाड्ने, के गर्ला माधव पक्ष ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कुनै पनि हालतमा आफूले अध्यक्ष पद नछाड्ने बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ओलीले अध्यक्ष पद छाड्नुपर्ने बटमलाइन अघि सारेपछि ओलीले आफूले अध्यक्ष पद कुनै हालतमा नछाड्ने घोषणा गरेका हुन् ।

आइतबार साँझ ओली निवास बालकोटमा कर्णाली प्रदेशका एमालेका १० वटै जिल्ला अध्यक्षसँगको सामूहिक भेटघाटमा ओलीले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘पार्टी एकता गर्नुपर्छ भन्ने कुरा म पनि मान्छु । तर अर्को पक्षले सर्तैसर्त राखिरहेको छ । त्यसलाई हुबहु मानेर म महाधिवेशनको म्यान्डेटविपरीत एकता गर्न सक्दिनँ । पदीय भागबन्डा मैले होइन, महाविशेनले नै टुंग्याउनुपर्छ । अहिले टुंगाए पनि भोलि पनि गुटगत गतिवधि नहोला भन्ने छैन ।’

ओलीले आफू पार्टीको जिम्मेवार नेता भएकाले कति लचिलो हुनुपर्ने हो, त्यति भएको, पार्टीका काम थाती राखेर हरसम्भव प्रयास गरेको तर गुटका नाममा सर्त थपिरहँदा नियत राम्रो नदेखिएको पनि बताए ।

ओलीलाई भेट्न सुर्खेतका ध्रुव शाही, दैलेखका रवीन्द्र शर्मा, हुम्लाका दल रावल, सल्यानका गोविन्द पुन, डोल्पाका लंकबहादुर शाही, जाजरकोटका करवीर शाही, मुगुका सोनाम लामा, पश्चिम रुकुमका नन्दऋषि शर्मा, जुम्लाका जयबहादुर रोकाया र कालीकोटका नगीन्द्र शाही बालकोट पुगेका थिए । ओलीको यो अडानपछि माधव पक्षले के गर्छ ? केही दिन कुर्नैपर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *