काठमाण्डौं । माधव नेपालको पार्टी कुन हो ? यो सवैभन्दा पेचिलो प्रश्न वनेको छ । प्राविधिक रुपमा उनी अझै पनि नेकपा एमालेको वरिष्ठ नेता नै छन । तर,उनको विचार,मित्रता,संगठन र संलग्नता भने एमालेमा छैन । लामो समय भयो उनी अलग पार्टीको अभ्यास गरिरहेका छन । सामान्य आँखाले हेर्दा उनी एमालेमा छन तर उनी एमालेमा रहेको पार्टी फुटयो भनेर घोषणा नगरेको कारणले मात्र हो । यस्तो परिस्थितिमा एमालेमा सहमति होइन,पुन एकता गराउने कोशिश जारी छ ।
एकता भनेको त्यहाँमात्र सम्भव छ,जहा दुइवटा राजनीतिक पार्टी हुन्छन । एमालेमा अहिले यहि कोशिश भइरहेको छ । खासमा एमालेमा एकताको कोशिश किन भइरहेको छ ? पटक पटक माधव चाहिंदैन,एमाले ठाउ छैन भनेर केपी ओलीले भन्दा पनि किन एकताको वाँसुुरी वजिरहेको छ ? एमालेमा माधव नेपाल अपरिहार्य भएर ? वा एमाले विना माधव नेपालको अस्तित्व नभएर ?
यतिञ्जेल एमाले प्राविधिक रुपमा नै भएपनि किन एक छ भने न ओली माधवलाइ कारवाही गर्ने हिम्मत जुटाइरहेका छन न माधव नयाँ दल गठन गर्ने जोखिम मोलिरहेका छन । खासमा देशकै ठुलो कम्युनिष्ट पार्टी एकताको कोशिश हुनु राम्रो कुरा हो ।
तर,एमाले एकतामा केवल पार्टी राजनीति मात्र जोडिएको भने छैन । यसमा सत्ता राजनीति पनि जोडिएको छ । यदि माधव नेपाल सत्ता गठवन्धन जोगाउन भन्दै सरकारमा प्रवेश गरे भने एमाले फुटछ । यदि माधव नेपाल पार्टी जोगाउँछु भनेर गठवन्धन तोडेर निस्किए भने सरकार जोखिममा पर्छ । अर्थात,जता माधव ढल्कन्छन,राजनीति उतै लम्कन्छ ।
भर्खर वालुवाटारबाट वालकोट पुगेका केपी ओलीलाइ शेरवहादुर देउवा र उनको गठवन्धनसंग झोंक चलेको कुरा त सर्वविदितै छ । यहिवेलामा पार्टी जोगाउने भन्दै माधवलाइ गठवन्धनबाट टुटाएर एमालेमा फर्काउन सकियो भने सत्ता गठवन्धन जोखिममा पर्ने,यसपछि संसद विघटन भएर चुनावको ढोका खुल्नेछ ।
ओली यहि बाटोमा राजनीति हिडोस भन्ने चाहिरहेका छन । यसो गर्दा सत्ता गठवन्धनकारीबाट अलग भएका नेपाललाइ आफनै हातले टिकट बाडदा बदला लिन पाइन्छ भन्ने सोंचमा रहेका छन ।
माधव समुह यतिवेला यहि अनिर्णयको वन्धक भएको छ । खासमा भन्ने हो भने माधव समुहको अनिर्णयको वन्धक हुदा नै न एमाले मिलेको छ न सरकारले आकार लिन सकेको छ । कतिसम्म भने मन्त्रीपरिषद समेत उनकै कारण विस्तार हुन सकेको छैन ।




