देश

सरकारको ध्यान अब खोप सर्वसुलभ र कोभिड नियन्त्रणमा

काठमाडौं । विश्वासको मत प्राप्त गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

गठबन्धनमा सामेल दलहरूले सरकारका पठाउनेको सूची दिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिएर प्रधानमन्त्री देउवा कोभिड नियन्त्रण र मुलुकको आर्थिक अवस्था बलियो बनाउन लाग्ने भएका हुन् ।

आइतबार प्रतिनिधिसभामा विभिन्न दलका नेताहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले स्पष्ट रूपमा ‘सरकारको अबको प्राथमिकता खोप खोप खोप’ भनेर प्रतिबद्धता जनाएका थिए । उनले विकासभन्दा पनि पहिले जनताको जीवन महत्वपूर्ण भएको जनाउँदै कसरी धेरैभन्दा धेरै नेपालीलाई चाँडै खोप लगाउने भन्नेमा आफू गम्भीर भएको उल्लेख गरेका थिए ।

देउवा प्रधानमन्त्री बनेलगत्तै चीनले अनुदानमा १६ लाख डोज खोप दिने घोषणा गरिसकेको छ । केही दिनभित्रै भारतले पनि खोप सहयोगको घोषणा गर्ने स्रोतले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोभिडविरुद्धको खोप खरिदका लागि पाँच अर्ब छुट्याइसकेका छन् ।

प्रधानमन्त्री देउवाले १२ देखि १८ वर्ष उमेरका बालबालिकाका लागि कोभिडविरुद्धको फाइजरको ४० लाख डोज खोप खरिद गर्न प्रक्रिया अघि बढाइसकेका छन् । विदेशबाट प्राप्त हुने अनुदानको खोपलाई बढी प्राथमिकता दिने, नभए तुरुन्तै खरिद प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *