काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ तेस्रो साता धकेलिने भएको छ । महाधिवेशनको मिति ७–१० भदौ तय भए पनि दुई साता पछि सार्ने तयारी भएको छ । केन्द्रीय समितिको बैठक बसेर सामान्य हेरफेर गर्र्ने तयारी भएको स्रोतले बताएको छ ।
महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ ।
यसअघि ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो । स्रोतका अनुसार कांग्रेसले वडादेखि केन्द्रसम्मको अधिवेशनका पूर्वनिर्धारित मिति फेरबदल गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसले संविधानअनुसार पनि महाधिवेशन भदौभित्र नगरे वैधानिकता गुम्ने अवस्था छ ।




