काठमाडौं । प्रधानमन्त्री केपी ओली निकै रिसइवी साँध्ने नेपाली नेतामा पर्छन् । आफ्ना विरोधीलाई भित्तामा पुर्याउने उनको प्रवृत्ति नै हो । त्यसैले उनी आलोचित बन्दै आएका छन् ।
आफ्नो कुर्सी जोगाउन जुनसुकै हर्कत गर्न पछि नपर्ने ओलीले आफ्ना विरोधी माधवकुमार नेपाललाई अहिले वार्ताका नाममा भुल्याइरहेका छन् । जुन दिन आफ्नो दुनो सोझिन्छ ओलीले नेपाललाई कुन हविगत बनाउँछन् भन्ने कसैले अनुमान गर्न सकेको छैन ।
कतिसम्म भने विवादका बेला ओली र नेपालबीच तीनपटक एक्लाएक्लै भेटवार्ता भो । दुईचोटि मेरियट होटेल र अर्कोचोटि अन्नपूर्ण पोस्टका मालिक रामेश्वर थापाको घरमा । तर, त्यसपछि भने ओलीले माधव समूहको शेखी झार्न माओवादी केन्द्रबाट आएका रामबहादुर थापालाई पनि वार्तामा सहभागी गराउन थालेका छन् । जबकि तिनै बादल पक्षका नेताका विषयमा ओली र नेपालबीच कार्यदल गठन गरेर विवाद मिलाउने समझदारी भएको छ । ओलीले भने एकपक्षीय ढंगले बादललाई नेपाल समूहसँगको वार्तामा सहभागी गराउनुले उनको नियतमाथि प्रश्न उठेको छ ।
आज बस्ने बैठकले कार्यदलमा रहने सदस्यहरूको नाम तय गरिने भएको छ । नेपाल समूहले भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्तको नाम टुंगो लगाएको छ । ओली समूहबाट अर्थमन्त्री विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नाम तय भएको छ । बाँकी रहेका दुई सदस्यमा गृहमन्त्री बादल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीको नाम प्रस्ताव गर्ने ओलीको अडान छ ।
एमाले विवाद मिलाउन बादलसमेतको नाम प्रस्ताव गर्न लागेपछि नेपाल समूह रूष्ट बन्न पुगेको छ । नेपाल समूहका नेताहरू कार्यदलमा बादललाई पनि प्रस्ताव गरिए वार्तामै नबस्ने बताउन थालेका छन् । बादल बैठकमा उपस्थित भएकाले शुक्रबार कार्यदल गठन हुन सकेको थिएन । शनिबार दुवै नेताको कार्यव्यस्तता रहेकाले आइतबार दिउँसो बैठक तय भएको बताइएको छ ।




