काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सफल नीति भएकै कारण देश असफल नभएको दाबी गरेका छन् । नयाँ वर्षको अवसरमा बुधबार बिहान देशवासीको नाममा सम्बोधन गर्दै उनले आर्थिक वृद्धिदर राम्रो भएको बताए ।
‘समग्र आर्थिक वृद्धिदरमा केही असरहरू परे पनि देश ऋणात्मक दिशामा जान परेन, कृषि उपजहरूमा वृद्धिदर राम्रै रह्यो,’ ओलीले भने, ‘पर्यटन क्षेत्र समस्याग्रस्त देखिएको छ । त्यसको पुर्नउत्थानका लागि पहिले कोभिडबाट सुरक्षित रहनुपर्छ ।’
उनले सरकार सकेसम्म लकडाउनमा जान नचाहेकोसमेत बताए। तर अर्थतन्त्रभन्दा पनि नागरिक जीवन पहिलो नीति राखेर काम गरिरहेको सरकारले युरोपेली देशहरूमा समेत बाध्यात्मक अवस्था आएको लकडाउनलाई हेरिरहेको उनले बताए।
सुरक्षा सर्तकर्ता अपनाए तत्काल लकडाउन गर्नु नपर्ने उनको भनाइ थियो । ओलीले भने, ‘धम्की दिने हैसियत पनि राख्दिन्, धम्की दिनुलाई उचित पनि ठान्दिन महिले लकडाउन गर्ने अवस्था नआहोस् भनेर अपिल गरेर सचेत मात्र गराएको थिए ।’
ओलीले गत वर्षका आफ्ना मुख्य उपलब्धिका रूपमा मेलम्चीको पानी काठमाडौंमा ल्याइएको, पुनर्निर्माण पूरा गरिएको, नयाँ परियोजनाहरू सुरु गरिएको बताए। उनले जमिनको भूनक्साङ्कन र मालपोतसहितका कार्यालयलाई डिजिटलमा लगिएको, सडक, पुलजस्ता भौतिक पूर्वाधारमा प्रगति भएको दाबी पनि गरे।
एसिड आक्रमणविरुद्धको कडा कानुन अध्यादेशमार्फत् ल्याउँदासमेत संसद्मा प्रस्तुत गर्न नदिएर अप्रिय र अशोभनीय स्थितिको सिर्जना गरेको ओलीले बताए। अमेरिकी सहयोगको एमसीसी सम्झौता संसद्मा टेबल गरिए पनि त्यो निर्णयार्थ प्रस्तुत नभएको उनले बताए।




