समाचार

ओलीसँग जसले हिमचिम बढायो उसकै राजनीति सिद्धियो, क–कसले पाए धोका ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली प्रस्ट बोल्छन् । नेपाली समाजको बनोट र मनोग्रन्थी जस्तो हो ठ्याक्कै मिल्ने गरी बोल्छन् । बोलीमा प्रस्टता छ । त्यही भएर धेरै मानिस ओलीको भाषणको तारिफ गर्छन् । आफ्ना विरोधीलाई भित्तैमा पुग्ने गरी बोल्ने भएकाले पार्टीमा उनका फ्यान फलोइङ धेरै छन् ।

ओली पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडी हुन् । करिब ६ वर्षदेखि नेपालको राजनीति ओलीकै वरिपरि घुमिरहेको छ । आफू कुर्सी र नेतृत्वमा पुग्न ओली जस्तोसुकै सम्झौता र सहमति गर्न पछि पर्दैनन् भन्ने कुरा केही उदाहरणले नै पुष्टि गर्छ । उनले अहिलेसम्म जो जोसँग साथ र सहयोग लिएर अघि बढेका छन्, ती सबैको उनले राजनीति धुलिसात पारिदिएका छन् ।

मालेकालमा ओलीले राधाकृष्ण मैनाली, सीपी मैनाली, मोहनचन्द्र अधिकारीको साथमा राजनीति गरे । उनीहरूकै सहयोगमा एमालेमा स्थापित भए । तर, पछि सबैलाई लाखापाखा लगाइदिए ।

एमालेको अध्यक्ष बन्न उनले आफ्ना विरोधी वामदेव गौतमलाई प्रभावित पारे । विभिन्न लोभलालच र आश्वासन दिए । गौतम माधव नेपालकै पक्षमा रहेका भए ओली कहिल्यै एमाले अध्यक्ष बन्ने थिएनन् । उनले नवौं महाधिवेशनमा माधव नेपाललाई ५५ मतले मात्र पराजित गरेका थिए । आफू अध्यक्ष निर्वाचित भएपछि ओलीले माधव नेपाल समूहलाई भित्तासम्मै लगेर पेल्यो । ०७४ को निर्वाचनमा ओलीले वामदेवलाई बर्दियाबाटै हराउन विशेष भूमिका खेलेको एमाले नेताहरु नै बताउँछन् । वामदेव अहिले यता न उताका भएका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनताका ओलीले आफू प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध सुधार गरे । कांग्रेसको सरकारमा रहेका बेला प्रचण्डले ओलीसँग घाँटी जोडे । प्रचण्डसँगको घाँटी जोडाइले ओलीले प्रधानमन्त्री पद पाए । त्यसपछि एमाले र माओवादी केन्द्र एकता गरी नेकपा गठन गरे । प्रचण्डलाई आधा कार्यकाल प्रधानमन्त्री दिन्छु भनेर भद्र सहमति गरे । तर, पछि उनले प्रचण्डलाई प्रधानमन्त्री नदिएका मात्र होइन, नेकपाको एकता नै विभाजन गरिदिए । ओलीको धोकाका कारण प्रचण्ड अहिले यो अवस्थामा पुगेका हुन् । प्रचण्डलाई कमजोर बनाउन ओलीले उनी निकट थुप्रै नेतालाई आफूसँग ल्याएका छन् । तर, अहिले नै उनीहरू ओलीसँग आजित भइसकेको बताइन्छ ।

ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अहिले सँगै बस्न नसक्ने गरी कारबाही गरेका छन् । नेपालले ओलीलाई ४७ वर्षदेखि सहयोग गर्दै आएका थिए । यदि नेता नेपालको सहयोग नहुने थियो भने ओली अहिलेको यो अवस्थामा आउन सक्ने थिएनन् । उनको महत्वाकांक्षा बढ्ने थिएन । किनभने ओली र नेपाल चार दशकभन्दा बढी एउटै गुटमा थिए ।

ओली अहिले प्रधानमन्त्रीको कुर्सी जोगाउन महन्थ ठाकुर र राजेन्द्र महतोलाई फकाइरहेका छन् । तराई मधेसमा पस्न नसकेकाले ओलीले ठाकुर र महतोको साथ लिन खोजेका हुन् । यतिबेला उनलाई जसपाको निकै ठूलो भर चाहिएको छ । यदि माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा जसपालाई सरकारमा ल्याउने उनको तयारी छ । तर, ओलीसँगको डेढ वर्षे सहकार्यले जसपा भन्ने पार्टीको राजनीति धरातलमा पुग्ने निश्चित छ । जुन दिन ओली मधेस पस्छन्, ठाकुर र महतो त्यहाँबाट भाग्नुपर्ने अवस्था आउने विश्लेषण हुन थालेको छ । त्यही भएर जसपाले राखेका सबै माग कागजी रूपमा पूरा गर्ने, व्यवहारमा पेल्ने ओली रणनीति देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *