काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गर्नेबारे अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच अनौपचारिक छलफल तीव्र बनेको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि दलीय बैठक तीव्र बनेको हो ।
नयाँ सरकार गठनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । उनले पार्टीमै सभापति शेरबहादुर देउवा निकट नेता विमलेन्द्र निधिसँग भेट गरी नयाँ सरकार गठनबारे छलफल गरेका थिए । पौडेलले आजै जसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटेका छन् । ठाकुरको हात्तीवनस्थित निवास पुगेर केपी ओलीको विकल्पमा तीन दलीय गठबन्धन बनाउन आग्रह गरेका छन् ।
तर, महन्थ ठाकुर अझै पनि केपी ओलीतिरै देखिएका छन् । उनले कांग्रेस नेतृत्वमा सरकार बन्न नसक्ने जनाउनुले आफैं प्रधानमन्त्री हुन खोजेको विश्लेषण गर्न थालिएको छ । जसपा अहिले संसदमा चौथो ठूलो दल हो । तर, नयाँ सरकार गठनमा मात्र होइन, ओलीको कुर्सीको चाबी पनि आफूसँग भएकाले ठाकुरले यही बेला प्रधानमन्त्रीमा दाबी गरेको बताइएको छ ।
उनले निर्णायक शक्ति भएकाले सरकारको नेतृत्वको दाबी नछाड्ने अडान लिएको बुझिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँगको भेटमा ठाकुरले जसपाले सरकारको नेतृत्व लिने विषय राखेको स्रोतले जानकारी दिएको छ ।
कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन बनाउने भए प्रधानमन्त्रीमा दाबी गर्ने, नभए ओली सरकारमै सहभागी हुने महन्थ ठाकुरको तयारी छ । यसका लागि राजेन्द्र महतोले निकै दबाब दिएको बुझिएको छ । तर, कांग्रेसमा भने माओवादी केन्द्र र जसपाको नेतृत्वमा सरकारमा जानुभन्दा अर्ली निर्वाचनमा जानुपर्ने मत पनि बलियो बनेको छ । अहिले ठाकुरलाई प्रधानमन्त्रीको लोभ ओलीले नै देखाएको स्रोतले बताएको छ ।




