देश

सन्तनेता किशुनजीको मेलम्ची सपना पूरा, राष्ट्रपति भण्डारीले गरिन् औपचारिक उदघाटन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले दुई दशकअघि देखेको सपना पूरा भएको छ । सन्तनेता भट्टराईले दुई दशकअघि सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याएर काठमाडौंवासीलाई खुवाउने घोषणा गरेका थिए । सन्तनेताको त्यो मेलम्ची सपना बल्ल पूरा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको शुक्रबार समुद्घाटन गरेकी छन् । भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको पनि सहभागी थिए । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा सानाठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ ।

काठमाडौं उपत्यकाका सर्वसाधारणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ ।

‘सन्तनेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची नदीको पानी ल्याउने उद्घोष गरेको परियोजना अन्ततः आजको समयमा साकार हुन पुगेको छ । यो घडि नेपाली कांग्रेस सन्तनेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौ उपत्यकाबासीमा बिशेष बधाई ज्ञापन गर्दछ,’ काठमाडौंमा मेलम्चीको पानी आएपछि कांग्रेसले सन्तनेता भट्टराईलाई यसरी सम्झेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *