समाचार

सिंहदरबारमा सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच वार्ता सुरु

काठमाडौं । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । दिउँसो १ बजेपछि दुई पक्षबीच वार्ता सुरु भएको हो ।

थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले मंगलबार विहान पाँच सदस्यीय बार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।

सरकारले सोमबार नै गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य छन् ।
थाकसद्वारा गठित वार्ता टोलीको संयोजकमा पूर्वसांसद रुक्मिणी चौधरी रहेकी छन् ।

वार्ता टोलीका सदस्यमा महामन्त्री प्रेमीलाल चौधरी, कांग्रेस नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी छन् ।

महामन्त्री चौधरीकाअनुसार यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल हुनेछ ।
मागमा सांसद रेशम चौधरी तथा टीकापुर घटनाका दोसी करार गरिएकाहरुको रिहाई, झुठा मुद्दा खारेजी, २०७२ भदौ ८ गते टीकापुर घटनापछि थारुहरुको घरमा भएको लुटपात, आगजनी, चेलीबेटीमाथि गरिएको हातपातमा संलग्न दोसीको पत्ता लगाई कारवाहीको मागसमेत गरिएको छ । त्यस्तै, राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा लोकसेवा आयोगमा प्रतिशत निर्धारण र संविधान संशोधनको मुद्दासमेत छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *