देश

ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव पक्ष पनि सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले शुक्रवारका लागि बोलाएको पार्टीको संसदीय दलको बैठकमा माधवकुमार नेपाल समूहका सांसदहरू पनि सहभागी हुने भएका छन्।

नेपाल पक्षको आज बसेको केन्द्रीय समिति र सांसदहरूको भेलाले संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको हो। यसअघि अघिल्लो पटक आह्वान गरिएको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरू अनुपस्थित थिए। त्यसबेला माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो ।

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल भने दलको बैठकमा जाने नजाने यकिन छैन । नेता नेपालले पार्टीका बैठकहरू प्रधानमन्त्री निवास बालुवाटारमा नभई पार्टी कार्यालय वा संसदीय दलको कार्यालयमा गरिनुपर्ने बताउँदै आएका छन्।

‘पार्टीभित्र बसेर संघर्ष जारी राख्ने निर्णय भएको छ। जसरी साथीहरूलाई कुनामा पारिएको छ त्यसविरुद्ध लडिरहने भन्ने छ। अन्तिम समयसम्म एकताको लागि पहल गर्ने भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ माधव पक्षका नेता रघुजी पन्तले भने ।

यसअघि ओलीको निर्देशनमा एमाले महासचिव ईश्वर पोखरेलले नेता नेपालसहित चार नेतालाई पार्टी विभाजन हुनेगरी समानान्तर खालको गतिविधि गरेको आरोप लगाउँदै तीन दिनभित्र स्पष्टीकरण बुझाउन सोमवार पत्राचार गरेका थिए। चारै नेताले बिहीबार स्पष्टीकरण बुझाइसकेका छन् ।

सर्वोच्च अदालतको आदेशले गत फागुन २३ गते ब्युँताएको एमालेभित्र विवाद चर्किएको छ। पूर्वप्रधानमन्त्री नेपालले पठाएको पत्रमा पार्टी विभाजनको दुराशय राखेको, विगतमा नेपाल कम्युनिस्ट पार्टी रहँदा दलभित्र अन्तर्विरोध सिर्जना गरेको र ओली सरकारका कतिपय कदम राष्ट्रिय हितविपरीत रहेको आरोप लगाइएको थियो।

सर्वोच्च अदालतले पार्टीलाई नेकपा माओवादीसँगको एकीकरण पूर्वको अवस्थामा पुर्‍याए पनि यसबीचमा प्रधानमन्त्रीले एकपक्षीय रूपमा पार्टीको विधान र सङ्गठनात्मक विषयमा निर्णय गरेको नेपाल–खनाल पक्षको आरोप छ। उनीहरूले ती विषयमा पार्टीको महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय समितिमा छलफल गरिनुपर्ने माग गरिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *