काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपालमा लकडाउन घोषणा गरिएको ठ्याक्कै एक वर्ष हुन लागेको छ । तर, आजसम्म पनि कोरोनाको संक्रमण घटेको छैन ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ। जसमध्ये दुई लाख ७१ हजार ९२१ जना निको भइसकेका छन् । कोरोनाबाट नेपालमा तीन हजार १६ जनाको मृत्यु भएको छ।
संसारका विभिन्न देशमा कोरोनाका कारण पहिलेोदेखि चौथो चरणसम्मको लकडाउन भइसकेको छ । छिमेकी भारतमा कोरोना भाइरसको दोस्रो लहर चलेको छ। संक्रमण अत्यधिक बढेपछि राजस्थानका मुख्य शहरमा रात्रिकालीन कर्फ्यू लगाइको छ। छिमेकमा संक्रमण फैलिन थालेसँगै नेपालमा पनि जोखिम बढेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एक सातामा कोरोना संक्रमण ६७ प्रतिशतले बढेको छ। अघिल्लो साताको तुलनामा पछिल्लो साता दिनमा एक लाख संक्रमित थपिएका छन्। एक सातामा सबै गरेर दुई लाख ६० हजार जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा मात्रै ४७ हजार नयाँ संक्रमित पुष्टि भएका छन्।
भारतमा संक्रमितको संख्या एक करोड १६ लाख ४५ हजार ७६९ पुगेको छ। त्यसमध्ये एक लाख ६० हजार तीन जनाको मृत्यु भएको छ भने एक करोड ११ लाख ४९ हजार ३२४ जना निको भएका छन्। भारतको महाराष्ट्र, राजस्थान, दिल्ली, पश्चिम बंगाललगायतका राज्यमा संक्रमण बढेसँगै लकडाउन लगाइएको छ । नेपालसँँग सिमाना जोडिएका राज्यमा कोरोना संक्रमण बढेकाले नेपालका लागि समस्या थपिएको छ ।
भारतका प्रमुख शहरहरूमा कोरोना संक्रमण बढेसँग नेपालमा पनि जोखिम बढेको छ। भारतका प्रायः मुख्य शहरमा कामका लागि गएका नेपालीको ओहोर दोहोर भइरहने गरेको छ। नेपालसँग जोडिएका उत्तर प्रदेश, बिहार र पञ्चिम बंगालमा पनि कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छिमेकी देशहरूमा संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन, साबुन–पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरिएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा विगतमा जस्तै कोभिड–१९ बाट जोगिन सम्पूर्ण सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ।




