रिबन

बादल र विप्लवलाई प्रधानमन्त्री ओलीले किन महत्व दिँदैछन् ? यस्तो छ तथ्य

काठमाडौं । गत निर्वाचनमा वाम एकताको नाममा एमालेका अध्यक्ष केपी ओलीले हतार हतार माओवादी केन्द्रसँग एकता गरे । त्यसबेला माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल विरोधमा थिए । तर, दुई कम्युनिस्ट मिलेर निर्वाचनमा जाँदा बहुमत आउने र बलियो प्रधानमन्त्री बन्ने ओलीको सपना थियो । जुन सपना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साथमा लिएर पूरा गरे ।

प्रधानमन्त्री बनेको चार महिनामै ओलीले एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेकपा गठन गरे । तर, २० महिनासँगै नेकपामा बसेपछि ओलीले विभिन्न शक्ति प्रयोग गरेर नेकपा नै खारेज गर्न लगाउन सफल भएका छन् । फेरि एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् ।

यतिबेला ओलीको प्राथमिकतामा रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लव परेका छन् । जो कुनै समय प्रचण्डका मुख्य सहयोगी थिए । प्रचण्डको शक्ति नै बादल र विप्लव मानिन्थ्यो । दुवै अहिले ओलीलाई साथ दिन आइपुगेका छन् । आफैैले राजनीतिक प्रतिबन्ध लगाएर ओलीले विप्लवलाई खुला राजनीतिमा मात्र ल्याएका छैनन्, इन्सपेक्टरको नेतृत्वमा १० जना सुरक्षाकर्मी उपलब्ध गराएका छन् । जुन पूर्वप्रधानमन्त्रीलाई मात्र राज्यले उपलब्ध गराउँदै आएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन विप्लवले सार्वजनिक मञ्चबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोधे– ‘२० हजार जनमुक्ति सेनाको १९ अर्ब खोइ ?’ विप्लव त्यत्तिकै खुला भएका छैनन्, उनलाई नियोजित ढंगले शान्ति वार्तामार्फत बाहिर ल्याएर राज्यको संरक्षण दिन थालिएको छ ।

प्रधानमन्त्री ओली पक्षमा लागेका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले बुटवलमा बहिर्गमित लडाकुको भेलामा पनि यही प्रश्न उठाएका थिए।

अहिले प्रचण्डमाथि यो प्रश्न एमालेका उच्च तहका नेताले गरिरहेका छैनन बरु माओवादी छाडेका नेताबाटै बारम्बार उठिरहेका छन्। ‘यो प्रश्न स्वतस्फुर्त उठेको होइन, एमाले पक्षले उठाउन लगाएको हो। विस्तारै यो विषयलाई अगाडि बढाएर प्रचण्डमाथि राजनीतिक या कानुनी रुपमा प्रहार हुनेछ,’ माओवादी केन्द्रका एक नेताले भने ।

बादल पनि ओलीसँग त्यत्तिकै टाँसिएका होइनन् । उनका स्वार्थ धेरै छन् । छोराहरूले विभिन्न स्रोतमार्फत अकुत आर्जन गरेपछि त्यसलाई वैधता दिनु छ । ओलीले प्रचण्डको राजनीतिक करियर ध्वस्त बनाउने कसम खाएकाले बादलको साथ खोजेका हुन् । त्यसैले उनी बरु माओवादी केन्द्र छाड्ने निष्कर्षमा पुगेको नेताहरू बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *