रिबन

ओली आफैंले विप्लवलाई प्रतिबन्ध लगाए, आफैंले फुकुवा गरे

काठमाडौं । राजनीतिमा जे पनि सम्भव छ भनेर त्यसै भनिएको होइन । प्रधानमन्त्री भएको एक वर्षपछि केपी ओलीले २०७५ फागुन २८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि राजनीति गर्न प्रतिबन्ध लगाइदिए । सरकारको सो निर्णयपछि विप्लव समूह भूमिगत नै भयो । देशभर सशस्त्र संघर्ष अघि बढायो ।

विप्लव समूहको आक्रमणबाट केही नेपालीले ज्यान गुमाए । करोडौंका भौतिक संरचना जलाइयो । सरकारी र निजी गाडीमा आगजनी गरियो । विप्लव समूहले देशभर कम्ब्याट ड्रेससहित फौजी संगठन तयार गर्यो । जनगणतन्त्र र वैज्ञानिक समाजवाद ल्याउँछौं भन्दै हिँडेको विप्लव समूह अहिले शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ ।

बिहीबार बिहान सरकारी र विप्लव समूहबीच तीन बुँदे सहमति भएको र वार्ता सफल भएको विज्ञप्ति जारी भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्च सेयर गर्दैछन् । दुई वर्षपछि सार्वजनिक हुन लागेका विप्लवले के बोल्लान् भन्ने अहिले चासो देखिएको छ ।

तर, एउटा सत्य के हो भने विप्लव समूह निकै कमजोर बनिसकेको थियो । उसका महत्वपूर्ण नेता कार्यकर्ता धमाधम पक्राउ पर्दै थिए । आफ्नै परिवारका सदस्यसमेत पक्राउ परेपछि विप्लव बेचैन थिए । त्यसमाथि खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टी नै कब्जा गरेपछि विप्लव रक्षात्मक बनिसकेका थिए । त्यसैले उनी फेस सेभिङको खोजीमा थिए ।

यता, प्रधानमन्त्री ओलीलाई पनि प्रचण्ड र माधवकुमार नेपाललाई देखाउनु थियो । प्रचण्डकै नजिकका नेतालाई आफ्नो हातमा लिएर अहिले ओलीले उनीमाथि नै प्रहार गरिरहेका छन् । विगतमा माधव नेपाल निकट नेतालाई ओलीले यसरी नै आफूतिर तान्ने गरेका थिए । अहिले प्रचण्ड निकट नेताहरू रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालाई ओलीले आफ्नो गुटमा ल्याइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *