काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने दिन नजिकिएसँगै राजनीतिक दलहरूले आफ्ना सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएका छन् । बुधबार कांग्रेस र प्रचण्ड–माधव समूहले आफ्ना सांसदलाई बाहिर नजान सर्कुलर जारी गरेको हो ।
कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले आज सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ले क्रम बढेको अवस्थामा सो समूह पक्षले सांसदहरुलाई आज मध्यान्ह १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो ।
हिजोको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन सांसदहरुलाई पार्टी कार्यालय बोलाइएको नेताहरुले बताएका छन् ।
प्रचण्ड–नेपाल समूहका सांसदद्वय गोपाल बम र गंगा चौधरीलाई ओली समूहले आफ्नो पक्षमा रहेको भनेर प्रचार गरेपछि सांसद चोरिने आशंका बढेको भन्दै आज भेला गरेको हो । बम र चौधरीले आफूहरू प्रचण्ड–माधव समूहमा रहेको स्पष्ट पारेका छन् ।




