रिबन

के नेपालमा कोरोना भाइरसको दोस्रो लहर सम्भव छ ? १३ जनामा देखियो नयाँ प्रजातिको कोरोना

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निकै कम देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा दैनिक तीन चार हजारले पिसिआर परीक्षण गराउँदै आएका छन् । सरकार आफैंले पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको छैन । तीमध्ये सयदेखि दुई सयसम्मको संख्यामा संक्रमित देखिन थालेका छन् । जसका कारण संक्रमितको संख्या निकै कम देखिन थालेको छ ।

नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पनि लगाउन थालिएको छ । अहिलेसम्म दुई लाखले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । पौने तीन लाख कोरोना संक्रमित पुगेका छन् । दुई हजारको मृत्यु भइसकेको छ । निको हुनेको संख्या पनि ९८ प्रतिशतभन्दा बढी छ । त्यसैले अहिलेको अवस्थामा मानिसहरु कोरोनाबाट त्यति भयभित देखिएका छैनन् ।

तैपनि कोरोनाको पहिलो लहर समाप्त भइनसकेको चिकित्सकहरू बताउँछन् । झन् बेलायतबाट सुरु भएको युके भेरियन्टका कारण जनमानसमा त्रास उत्पन्न भएको छ । गत पुस २७ गते तीनजनामा युके भेरियन्ट देखिएको थियो । सो संख्या बढेर १३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो । उनमा ‘एस जिन’ देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको थियो ।

नयाँ प्रजातिको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नेपालमा छैन । त्यसैले विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा उनीहरूको जिनोम सिक्वेन्सिङ गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले नयाँ भाइरस देखिए पनि सार्वजनिक गरेको थिएन । युके भेरिएन्ट हो वा होइन भन्ने यकिन भइनसकेका कारण सार्वजनिक नगरिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

नयाँ भाइरस देखिएका १३ जनाको नमुना केन्द्रीय प्रयोगशालामा थुपारिएको छ । संक्रमितहरूको ट्राभल हिस्ट्री छैन । केन्द्रीय प्रयोगशालाका अनुसार अन्य जिल्लाबाट पनि यस्ता नमुना आउने क्रम बढ्दै छ । बेलायतमा देखिएको युके भेरिएन्ट अहिले देखिएको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने गरेको छ । यो अहिलेसम्म विश्वका ८० भन्दा बढी देशमा पुगिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *