काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहालवाला दुई मन्त्री आफ्नो समूहमा आउन लागेको दाबी गरेपछि यतिबेला बालुवाटारमा हल्लीखल्ली मच्चिएको छ । प्रचण्डले तीन दिनअघि भाषणमा हालै बनाइएका मन्त्री आउन खोजिरहेका छन् भनेका थिए । बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ ।
प्रचण्डको यस्तो दाबीपछि बिहीबार ऊर्जामन्त्री टोपबहादुर रायमाझीको सचिवालयले प्रस्टीकरण दिन नोटिस नै जारी गरेको थियो । उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले साह्रै राम्रो काम गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले हल्ला फैलाएको भनेर आफू ओलीकै साथमा रहने मन्त्री रायमाझीको सचिवालयले प्रस्टीकरण दियो ।
भृकुटीमण्डपमा आयोजित विरोध सभामा प्रचण्डले दुई मन्त्रीको आफूसँग वार्तासमेत भइरहेको बताए । ठूलो संख्यामा फर्कने क्रम चलेको उनको भनाइ थियो । ‘हामी कहाँ फर्कनेको लामो लिष्ट छ,’ प्रचण्डले भने, ‘उहाँले नै बनाएका दुईजना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्वमाओवादीबाट पाँचजनालाई मन्त्री बनाएका थिए । ओलीले टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामालाई मन्त्री बनाएका थिए । जसमध्ये प्रभु साह प्रचण्डको आलोचनामा उत्रिएका छन् ।
यतिबेला प्रधामन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादल असन्तुष्ट छन् । युवा संघको पुर्नगठनमा उनको पक्षधरले बहिष्कार नै गरेको छ । बादल, दावा लामा, चौधरी र थापामध्ये दुईजना प्रचण्ड समूहमा फर्कने अनुमानह लगाउन थालिएको छ ।




