रिबन

वैशाख १७ गते ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा ४० र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो।

बैठकले गण्डकी, कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा बैशाख १७ गते र वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, नेकपाको आधिकारिकता विवाद र प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा चलिरहेका बेला सरकारको यो निर्णय पनि विवादमा परेको छ । अदालतलाई प्रभावित पार्न प्रधानमन्त्री ओलीले सोमबार राति मन्त्रिपरिषद्को बैठक राखेर यस्तो निर्णय गराएका हुन् ।

दलहरू निर्वाचनभन्दा पनि प्रतिनिधिसभा पुनःस्थापनाको आन्दोलनमा लागेका बेला सरकारले गरेको यो निर्णयले खासै महत्व राख्ने अवस्था देखिन्न । आफ्नो निर्णय उचित भएको ठहर गराउन पनि ओलीले निर्वाचनको रटान दिन छाडेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *