काठमाडौं । संवैधानिक अंगका पदाधिकारी नियुक्ति गरी बिहानै सरकारले सपथ खुवाएपछि नेकपा (प्रचण्ड–माधव नेपाल समूह) ले बिहीबारका लागि देशव्यापी हडताल राख्यो । नेपाल बन्दको चौतर्फी विरोध भयो । गृह मन्त्रालयले त विज्ञप्ति नै जारी गरी पेसा व्यवसाय निर्धक्क सञ्चालन गर्नु, हामी सुरक्षा दिन्छौं भन्यो ।
सोही कारण बिहीबार बिहानै धेरैले आफ्नो पेसा व्यवसाय सुरु गरे । ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठ पनि ट्याक्सी निकालेर सडकमा आइपुगे । गोंगबुमा बिहानै एकजना व्यक्तिले मिटरमा जान आग्रह गरे । उनले हुन्छ भनेर चलाउन खोजे । ट्याक्सी चलाउन मात्र के लागेका थिए, यात्रुले भित्रै आगो बालेर पेट्रोल खन्याइसकेका रहेछन् । एकछिनपछि श्रेष्ठको ट्याक्सी ह्वारह्वारती बलेर खरानी बन्यो । उनले हेरिरहे मात्र । केही गर्न सकेनन् ।
‘अहिलेसम्म मैले जानेकै यही ट्याक्सी चलाउन हो, यो पनि जलेपछि साहुले के भन्लान्, एक्दमै चिन्तामा छु, म तत्कालै ननिस्किएको भए, आफैंलाई पनि समस्या हुने रहेछ । धन्न ज्यानचाहिँ जोगियो,’ श्रेष्ठले मिडियालाई भनेका छन् । अब श्रेष्ठको रोजीरोटी चल्ने ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने कि बन्दका आयोजकले भर्ने भन्ने बहस सुरु भएको छ ।




