काठमाडौं। निर्वाचन आयोग पनि प्रधानमन्त्री केपी ओलीको हस्तक्षेपको सिकार हुने देखिएको छ । नेकपाको आधिकारिकता र चुनाव चिन्हका विषयमा आयोगमा परेको निवेदनबारे अहिलेसम्म कुनै निर्णय नआउनु र नेकपा विभाजन नै नभएको भन्ने निर्णय आउन सक्ने चर्चाले आयोग ओलीको हस्तक्षेपकै कारण निरीह बन्ने अवस्था आएको अनुमान गरिएको छ ।
अहिले नेकपा ओली र माधव–प्रचण्ड समूह गरी अलग अलग क्रियाशील छन् । ओली नेकपाको केन्द्रीय समिति १५ सय सदस्यीय छ भने माधव प्रचण्ड समूहको केन्द्रीय समिति झन्डै तीन सय सदस्यीय छ ।
नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले फेरि पनि स्वीकार नगर्ने भन्नुले अmभै नेकपा विभाजन नभएको देखाउन खोज्नु भएको नेताहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै सत्तारूढ दल नेकपाको विवाद उत्कर्षमा पुगेर व्यवहारतः पार्टी विभाजित भएको हो। त्यसयता पार्टीका दुई अध्यक्ष ओली तथा प्रचण्डले अलग–अलग समूह बनाउनुका साथै एकले अर्कालाई कारबाही गर्नेलगायतका निर्णय गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरेकामा प्रधानमन्त्री ओलीलाई प्रचण्ड पक्षले अनुशासनको कारबाही गर्दै पार्टी अध्यक्षबाट हटाएको छ। उनको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको छ।




