रिबन

आपूर्तिमन्त्री लेखराज भट्टको अभिव्यक्तिले रिसायो चीन, ओलीलाई संकट देखिएकै हो ?

काठमाडौं । लेखराज भट्ट सुदूरपश्चिम प्रदेशका पूर्वमाओवादी पक्षका बलिया नेता मानिन्थे । एमालेसँग माओवादी केन्द्रको एकता भएर नेकपा गठन भएपछि भट्ट प्रचण्डसँगै टाढिँदै गए । अन्ततः नेकपा फुटपछि भट्टले पूर्वमाओवादी पक्ष छाडे र पूर्वएमाले पक्षका केपी ओली (नेकपा) मा सहभागी भए ।

भट्टलाई सुदूरपश्चिममा सामन्ती मानिन्छ । उनीसँग अथाहा सम्पत्ति रहेको नेकपाका नेता कार्यकर्ता बताउँछन् । आफ्नो सम्पत्ति जोगाउनकै निम्ति उनी माओवादी आन्दोलनमा लागेको धेरैको भनाइ छ । यतिबेला उनी आपूर्तिमन्त्री छन् । प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका छन् । तर, उनै भट्टको बोलीका कारण ओली सरकार संकटमा परेको छ ।

हुन त ओली सरकार त्यसै संकटमा छ कतिबेला ढल्ने हो निश्चित छैन । अदालतको एउटै आदेशले ओली सरकार ढल्ने अवस्था पनि छ । तर, भट्टले चीनविरोधी अभिव्यक्ति दिएपछि भने ओली संकटमा परेका हुन् । ओली चिनियाँ कार्ड देखाउँदै बलियो बन्दै आएका थिए । तर, अहिले उनी भारतसँग नजिकिएका छन् । त्यो चीनलाई मन परेको छैन ।

आपूर्ति तथा उद्योगमन्त्री भट्टले मंगलबार सार्वजनिक रुपमै चीनसँगको व्यापारिक नाकामा हुँदै आएको अवरोधबारे असन्तुष्टि जनाए । उनले चिनियाँ पक्षले सामान अवरोध गरेर नेपालीलाई दुःख दिने तथा महँगो भाडा लिने गरेको गुनासो मात्रै गरेनन्, ‘यस्तो पारो चीनसँग व्यापार गर्न सकिँदैन’ भन्दै चीनसँगको व्यापारिक सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए । भट्टको यो अभिव्यक्तिलाई चीनले गम्भीर ढंगले लिएको बुझिएको छ ।

एकातिर ओली सरकार भारतसँग नजिक हुनु र मन्त्री भट्टले चीनविरोधी अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । भारतले आफूले भन्दा पहिल्यै नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिएपछि चीन असन्तुष्ट बनेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *