काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा फेरि पनि प्रा.डा.रामकण्ठ माकाजुलाई बनाउने चलखेल सुरु भएको छ । उपकुलपतिमा माकाजुको दोस्रो कार्यकाल केही दिनमै सकिँदैछ । तेस्रोपटक पनि उनैलाई केयूको उपकुलपति बनाउन लागिएको छ ।
केयूको छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको छ । काठमाडौं विश्वविद्यालयमा दुई कार्यकाल उपकुलपति भइसकेका माकाजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम कुलपति तथा प्रधानमन्त्री केपी ओलीलाई सिफारिस गरेको हो ।
सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटिको बैठकले माकाजु, थापा र लुइँटेलको नाम सिफारिस गरेको स्रोतले बताएको छ । विश्वविद्यालयका कुलपति ओलीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेका थिए । कमिटी सदस्यमा विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् ।
एउटै व्यक्तिलाई दुईभन्दा बढी कार्यकाल उपकुलपतिको जिम्मेवारी दिन नहुने भन्दै विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी विरोधमा छन् । तर, उनको नाम किन सिफारिस गरियो भन्ने विषयले चर्चा पाएको छ ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले ‘एक व्यक्ति एक पद, अधिकतम दुई कार्यकाल’ हुनुपर्ने माग गरिरहेका छन् । छनोट समितिले सिफारिस गरेका व्यक्तिमध्ये एकजनालाई कुलपतिले चार वर्षका लागि नियुक्त गर्ने व्यवस्था छ । माकाजुले केयू छोड्न नचाहनुमा उनको धेरै स्वार्थ रहेको बताइन्छ । पछिल्लो समय केयूको पढाइको गुणस्तर घट्दै गएको छ । सुरेशराज शर्मा उपकुलपति हुँदा जस्तो चार्म केयूको छैन ।




