रिबन

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, टोपबहादुरदेखि महेश बस्नेतसम्म मन्त्री बन्ने सूचीमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एक दुई दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । नेकपामा विभाजन आएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएपछि सो ठाउँमा ओलीले मन्त्री नियुक्त गर्न लागेका हुन् ।

अब मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीलाई कोही कसैको अवरोधको सामना गर्नुपर्ने छैन । प्रचण्ड र नेपाल अलग समूह भएपछि आफ्ना कोटरीका नेतालाई ओलीले मन्त्री बनाउन सक्नेछन् ।

प्रतिनिधिसभा विघटन भइसकेकाले ओलीलाई जो जसलाई पनि मन्त्री बनाउन छुट छ । तर, अहिले चर्चामा आएका नाम भने सबै पूर्वसांसदहरू छन् ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना रहेको उनी निकट नेताहरुले बताएका छन् । बिहीबार केन्द्रीय कमिटीको बैठक सकिएपछि नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए ।

मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनि राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *