काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै प्रधानमन्त्री केपी ओलीले नेपाली सेनाका प्रधानसेनापतिसँगै गृह मातहतका तीनै सुरक्षा संगठनका प्रमुखलाई बालुवाटारमा बोलाए । बेलुकातिर बालुवाटार पुगेका सेना प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई सरकारले चुनावको मिति घोषणा गरिसकेकाले आवश्यक सुरक्षा तयारी गर्नुहोला भन्ने निर्देशन दिए ।
त्यही सन्दर्भमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मूल्यांकनमा नेत्रविक्रम चन्द विप्लवले समेत संसद् विघटनको स्वागत गरेको, राजतन्त्र पक्षधर समूह चुनावमा जान तयार रहेको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सामान्य विरोध प्रदर्शन गरी चुनावकै तयारी गर्ने निष्कर्ष निकालेका थिए । ‘अहिलेको अवस्थामा मुख्य सुरक्षा चुनौती सरकारको विरोधमा नेकपाकै असन्तुष्ट समूहबाट हुनसक्ने प्रदर्शन र गतिविधि हुनसक्छ,’ एक उच्च सुरक्षाअधिकारीले भने, ‘विप्लव पनि सुरक्षा खतराका स्रोत हुन्। उनले तत्काल स्वागत गरे पनि निर्वाचनको माहौल बन्दै गए हिंसात्मक घटना गराउन सक्ने देखिन्छ।’
सुरक्षा संगठनमा भएका छलफलमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरे पनि सर्वोच्च अदालतमा रिटहरू परेको र अन्य दलहरू छलफलमा रहेकाले तत्काल आक्रामक सुरक्षा रणनीति नअपनाउने निष्कर्षमा पुगेका छन् । तत्काल विरोध प्रदर्शन हुनसक्ने स्थानहरूमा सुरक्षाकर्मीको संख्या बढाउने, मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाउने र मुख्य गरी विप्लवको गतिविधि निगरानीमा राख्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको तयारी छ ।
सोहीअनुसार आइतबारबाटै सहरी क्षेत्रका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो भइसकेको छ । सोमबारसमेत विरोध प्रदर्शन हुनसक्ने काठमाडौँका अधिकांश स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बाक्लो थियो ।
विपक्षी नेताहरूको गतिविधि निगरानीको जिम्मा राष्ट्रिय अनुसन्धान विभागले पाएको छ। पहिला गृह मन्त्रालय मातहत रहेको विभाग अहिले प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा पुगिसकेको छ । विभाग स्रोतका अनुसार आइतबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सूचनासमेत विभागबाटै बालुवाटार पुगेको थियो ।
आइतबारबाट विभागले आफ्ना कर्मचारीलाई नेकपाका दाहाल र नेपाल समूहका प्रमुख नेताहरूको गतिविधिमा बढी केन्द्रित गरेको छ । ‘नेकपाका सांसदहरूमाथि पनि निगरानीको निर्देशन आएको छ,’ उच्च स्रोतले भन्यो, ‘नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका प्रमुख नेताको निगरानी पनि बढेको छ ।’
स्रोतका अनुसार नेताहरूको निगरानी बढाउन विभागको सिंहदरबारमा रहेको कार्यालयका विशेष सेक्सन नै राखेर सक्रिय बनाइएको छ । राजनीतिक गतिविधि हेर्न विभागमा पहिला पनि छुट्टै डेस्क थियो । नेपाल प्रहरीले पनि गम्भीर प्रकृतिको संगठित अपराध हेर्ने विशेष ब्युरोलाई आन्तरिक गतिविधि केन्द्रित गरेको छ ।




