काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेलगत्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिश गर्ने जानकारी दिएका थिए । झन्डै दुई तिहाइ बहुमतको सरकार हुँदाहुँदै ओलीले संसद् विघटनको सिफारिस गरेलगत्तै प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने अधिकार भए पनि अर्को प्रधानमन्त्री बन्न सक्ने अवस्था भएमा त्यसो गर्न नसकिने उल्लेख छ ।
मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् ।




