काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक आज (आइतबार) का लागि बोलाइएको छ । तर, प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टकराव यथावत् नै रहेकाले बैठक बस्ने कि नबस्ने भन्ने अन्योलमा परेको छ ।
प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्षको चारो फालेपछि नेकपामा समीकरण फेरि परिवर्तन भएको छ । यदि वामदेवले ओलीलाई साथ दिएमा प्रचण्ड र माधव नेपाल पक्ष रक्षात्मक अवस्थामा पुग्नेछ । त्यसैले स्थायी कमिटी बैठक फेरि पनि स्थगित हुने सम्भावना बढी देखिएको छ । स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठकबाट ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न लगाउने प्रचण्ड पक्षको अडान कायमै छ । त्यसैले पनि ओलीले स्थायी र केन्द्रीय कमिटी बैठक पर पर सार्दै लैजाने रणनीति अवलम्बन गरेका छन् ।
शनिबार रातभर पूर्वएमाले र पूर्वमाओवादी पक्षका नेताहरूसँग वामदेव परामर्शमा जुटेका थिए । त्यसले गर्दा आज राजनीतिक परिदृश्य फरक देखिने ओली गुटका नेताहरुले अपेक्षा गरेका छन् ।




