रिबन

प्रचण्डसँग सल्लाह नगरी प्रधानमन्त्री ओलीले संवैधानिक अंगमा नियुक्ति गर्न सक्छन् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विभिन्न संवैधानिक अंगमा रिक्त पदाधिकारी र सदस्य नियुक्तिबारे निर्णय गर्न मंगलबार बिहान संवैधानिक परिषदको बैठक बोलाएका थिए । तर, गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजे पुनः परिषदको बैठक बोलाएका छन् । बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि गणपूरक संख्या पुगेन । परिषद् पदेन सदस्य उपसभामुख पद रिक्त छ । बिहानको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा भने सहभागी थिए ।

बिहानको बैठकमा नआएका सभामुख साँझको बैठकमा कसरी उपस्थित होलान् ? भन्ने जिज्ञासा उठेको छ । प्रधानमन्त्री ओलीले परिषद् बैठक स्थगित भएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाउनुको कारण अझै खुलेको छैन ।

नेकपामा दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद उत्कर्षमै रहेका बेला परिषद् बैठक प्रभावित बन्न पुगेको हो । सभामुख उपस्थित नहुनुलाई प्रचण्डलाई नै कारण मानिएको छ । सापकोटा प्रचण्डकै दबाबमा सभामुख निर्वाचित भएका हुन् ।

नेकपाको गत भदौमा सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक नियुक्ति गर्दा पार्टीसँगको परामर्श र छलफलपछि मात्र प्रधानमन्त्री ओलीले गर्ने निर्णय गरेको थियो । तर, सो बैठकलगत्तै राजदूत नियुक्तिमा ओलीले कुनै छलफल नगरेपछि विवाद सुरु भएको हो ।

त्यसमा पनि संवैधानिक अंगका पदाधिकारी नियुक्ति गर्न लाग्दा प्रधानमन्त्रीले पार्टीमा कुनै छलफल नगरेकाले विवाद झनै बढ्ने देखिएको छ । यदि आज बिहानको परिषद् बैठकमा सभामुख सापकोटा सहभागी भएका भए प्रधानमन्त्री ओलीले परिषद्मा नियुक्ति हुनेको नामावली प्रस्तुत गर्ने निश्चित थियो । त्यही बुझेर पनि सभामुख बैठकमा उपस्थित नभएको हुन सक्ने आकलन गरिएको छ ।

यदि यसपटक संवैधानिक अंगमा प्रधानमन्त्री ओलीले पार्टीसँग कुनै छलफल नै नगरी एकलौटी निर्णय गरेमा त्यसले झनै विवाद बढाउने संकेत देखिएको छ । सरकारी नियुक्तिमा प्रधानमन्त्रीको अधिकार हुने भए पनि पार्टीसँग परामर्श र छलफल नगरेको भन्दै प्रचण्ड र माधवकुमार नेपाल समूहले विवाद निकाल्ने प्रबल सम्भावना छ ।

अख्तियार, मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकाय र आयोगमा ४५ पद रिक्त भएकाले नियुक्ति गर्नुपर्ने सरकारलाई दबाब छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *