काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपाभित्र संसदीय अंकगणितको सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीसँग बहुमत रहे पनि संसदमा प्रस्तुत हुने स्पष्ट बहुमत नपुगेपछि अहिले वरिष्ठ नेता माधवकुमार नेपाल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रहेका सांसदहरुलाई कसरी आफूतिर चोर्ने भनेर लागिरहेका छन् ।
ओली समूहले आफूसँग ९२ जना सांसद रहेको दाबी गरे पनि हाल ७५/७६ जना सांसद मात्रै रहेको स्रोतको दावी छ । केही सांसदहरु खुलेका छैनन् भने केही तटस्थ बस्ने सम्भावना छ ।
त्यस्तै, वरिष्ठ नेता नेपाल र कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि ७२ जनाभन्दा बढी सांसद पुग्दैनन् । उनीहरु पनि आप्mनो पक्षमा सांसद पुर्याउन जोड गरिरहेका छन् । तर पार्टी फूट्ने सन्दर्भमा भने केही सांसदहरु मौन बस्न सक्ने भएकाले प्रचण्ड नेपाल समूहलाई पनि बहुमत पुग्ने अवस्था छैन ।
सांसदहरुको हकमा प्रचण्ड नेपाल पक्ष कमजोर देखिएपछि अहिलेको समयमा सांसद तानेर बहुमत पुर्याउन कसरतमा ओली पक्ष लागेको छ ।
पार्टी एकतापछि तीनवटा समूह स्पष्ट रुपमा देखा पर्यो । सो समूहको नेतृत्व ओली, प्रचण्ड र माधव नेपालले गर्दै आए । तीनवटै समूहले आफूहरुलाई पार्टीभित्र शशक्त बलियो रुपमा दावी गर्दै आए ।
पार्टीभित्र माधव नेपाल समूह सबैभन्दा बढी पेलिएको हेपिएको र चेपिएको अवस्थामा रह्यो । पार्टीभित्र यो समूहले विस्तारै आफ्ना दाह्रा नङ्ग्राहरु सशक्त बनाउदै लगेको अवस्थमा प्रचण्ड समूहसँग सहकार्य गर्ने अवस्थामा आइपुगेको छ ।
यही सहकार्यका कारण पछिल्लो आठ महिनामा तीनपटक विभाजनको संघारमा पुगेको छ । पार्टीभित्रको शीर्ष नेताहरूबीच हुँदै आएको झगडाले पार्टीभित्रको विवाद बल्झिँदै आएको छ । संघीय संसदको झण्डै दुईतिहाइ बहुमत भएको पार्टी विवाद र विभाजनकै त्रासमा छ । यसअघि असार र भदौको अन्तिम साता विभाजनको खतराबाट जोगिएको थियो । तर त्यसको केही साता नबित्दै पुनः अहिले पार्टीको शीर्ष तहबाटै पुनः विवाद सुरु भएको छ ।
यसअघि गत भदौमा प्रचण्डसँग सहमति भएपछि स्थायी समितिको बैठकबाट भएको निर्णयले ओली सरकार पाँच वर्षका लागि सुरक्षित भएको मानिएको थियो । तर त्यो सहमति कार्यान्वयनमा समस्या देखिएपछि कात्तिकको अन्तमा फेरि विवाद बल्झिएको हो । जसले ओलीको संकट झन् बढाउँदै लगेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुवैको नेतृत्वमा रहेका दुई समानान्तर पक्षमा बाँडिएका नेताहरूबीच विवाद पटकपटक बल्झिरहेको हो ।
यसअघि पार्टी विभाजन निम्त्याउन सक्ने आँकलन गरिएका विवादलाई ओलीले केही कार्ड प्रयोग गरी तत्कालका लागि व्यवस्थापन गर्न सफल भएका थिए । आफू इतर पक्षमा रहेका केही नेताहरूलाई विश्वासमा लिँदै उनले आफ्नो पक्षमा बहुमत बनाएका थिए । जसकारण विभाजनको खतरा टरेका थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत साथमा लिन सफल भएपछि ओली थप बलियो बनेका थिए । यसअघिका दुई ठूला संकटमा ओलीले विभिन्न प्रलोभन दिँदै आएका थिए । जसकारण ओली अफ्नो अडानबाट पछाडि हट्ने अवस्था आएको थिएन, तर अहिले भने ओली पक्ष कमजोर भएको अवस्था छ । त्यसकारण पनि अंक गणितीय खेल सुरु हुन थालेको नेकपा वृत्तमा चर्चा चलेको छ ।




