काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहले आन्तरिक विवाद र नेताहरुको व्यवहारबारे निरन्तर समानन्तर भेला र छलफलको गरिरहेका छन् । दुवै पक्ष अब पार्टी विवादलाई लिएर आमने–सामने रुपमा देखापरेका छन् ।
पार्टीको निर्णयलाई अटेर गरी मदन भण्डारी फाउण्डेशनको नाममा आन्तरिक भेला र छलफल गरेपछि माधव नेपाल र प्रचण्डले पनि आन्तरिक भेला बैठक गर्न थालेका छन् ।
तीनवटै समूहले आफ्नो शक्ति सञ्चयका प्रलागि आन्तरिक भेला र प्रशिक्षणको तयारी गरेका हुन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्व माओवादीलाई समेटेर भेलाको आयोजना गर्ने तयारी गरेको छ भने दाहालले पूर्वमाओवादीहरुलाई मिलाउने प्रयास गरिरहेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओली समूहले भने दुई चरणमा राखेर आन्तरिक भेलाको तयारी गरेको छ । नेपाल समूहले धेरै अघिदेखि आन्तरिक भेलाको आयोजना गर्ने तयारी गरेको भएपनि केन्द्रीय कमिटीको बैठक नजिक आएकाले त्यसलाई रोकेको छ । तर केन्द्रीय सदस्यहरुसँगको समन्वय तथा छलफल भने गरिरहेको स्रोतले जनाएको छ ।
पार्टीभित्र नेपाल समूहलाई किनारा लगाएपछि शक्ति सञ्चयका लागि छलफल भेटाघाट हुनु स्वाभाविक हो । कतिपय नेताहरुले दुई दिन अघि वरिष्ठ नेता नेपाल पर्सा पुग्नुलाई पनि आफ्नो पक्षका नेताहरुसँगको भेटघाटमा गएको रुपमा अथ्र्याएका छन् । वरिष्ठ नेता नेपालले आफ्ना कुरा र विषयहरु सुनुवाई नभए देशव्यापी रुपमा कार्यकर्ताहरुको माझ जाने बताउदै आएका थिए ।
सचिवालयको बैठक वा अन्य सन्दर्भमा पनि नेता नेपालले पार्टी विधि र पद्धति अनुसार सञ्चालन नभएको आफ्नो समूहलाई पेलेको जस्ता मुद्दा लिएर कार्यकर्तामाझ जाने बताउदै आएका थिए ।
केही दिनअघि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरकमिटीमा गरेको सम्बोधनलाई ओली समूहले गुट भेला आयोजना गरेको रुपमा अथ्र्याएको मात्र छैन त्यहाँ केही कार्यकर्ताहरुले पाण्डेमाथि दूव्र्यवहारसमेत गरेका थिए ।
त्यस्तै पोखरामा पुगेका पाण्डेले आफू निकटका कार्यकर्ता भेटघाट गरेको पनि उनीमाथि आरोप छ । त्यसअघि पार्टी उपाध्यक्ष रहेका वामदेव गौतम दांगमा पुगेका थिए । त्यहाँ नीजि तथा पारिवारिक काममा पुगेका गौतममाथि ओली समूहले गुटभेला गरेको आरोप लगाएको थियो ।
प्रचण्डले पनि पछिल्लो समय आफू र निकटका नेताहरुसँगको भेटघाट र छलफललाई तिब्रता दिएका छन् । उनले खासगरी रामबहादुर थापा समूहलाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । थापाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन नहुने र पार्टी विभाजन गरेर जान नहुने अडान राख्दै आएका छन् ।
थापाले पार्टी एकतालाई मजबुद पार्न चार बुँदे प्रस्ताव अघि सारेपछि दाहालले उनीसँग यसै साता मात्रै दुई पटक छलफल गरेका थिए । त्यस्तै उनकै समूहका पम्फा भूषाल र देव गुरुंङलाई दाहालले आफ्नो पक्षमा पार्ने कसरत गरिरहका छन् । दाहालले टोपबहादुर रायमाझी, हरिवोल गजुरेल, मणी थापा लगायतका नेताहरुलाई पनि फकाउने र भड्काउमा नलाग्न आग्रह गर्दै आएका छन् । केन्द्रीय कमिटीको बैठक लगत्तै दाहालले आफ्नो समूहको भेला भेटघाट र छलफलको तयारी गरिरहेका छन् ।
त्यस्तै ओली समूहले भने निरन्तर आफ्ना गतिविधिलाई अघि बढाइरहेको छ । केन्द्रीय कमिटीका सदस्यहरु पार्टीका प्रदेश कमिटी र जिल्ला तहका नेताहरुसँग ओली समूहका नेताहरुको निरन्तर छलफल र भेटघाट हुने गरेको छ । दाहाल नेपाल समूहले त मदन भण्डारी फाउण्डेशनको नाममा ओली पक्षले गुट भेला गरेको आरोप नै लगाएको छ । केही समय यता काठमाडौ लगायत देशका विभिन्न जिल्लाहरुमा ओली समूहका केही नेताहरुले फाउण्डेशनको नाममा राजनीतिक प्रशिक्षण दिएको आरोप दाहाल नेपाल समूहले लगाएको छ । ‘ फाउण्डेनको नाममा हुने कुनै कार्यक्रममा नरोक्नु भन्ने हामीलाई निर्दैशन छ’, ओली समूहका एक नेताले भने । यसअघिका केही कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख एवं उपप्रधानमन्त्री र्इश्वर पोखरेलले सम्बोधन गरेका थिए ।
आउँदो चैत २५ देखि ३० सम्म पार्टीले महाधिवेशनको मिति तय गरेको भएपनि तीन वटै समूहले महाधिवेशनका लागि बहस खुला नगरी आफ्नो समूहको शक्ति सञ्चयका लागि गुट भेलाको तयारी गरेका हुन् । ‘नेताहरुले आप्mना आफ्ना समूहको आन्तरिक भेलाको तयारी गरिरहेको खबरहरु केन्द्रीय कार्यालयमा आउने गरेका छन् देशभरका कार्यकर्ताहरुले केन्द्रबाट हाम्रो कार्यक्रममा को को नेताहरु आउछन् भनेर सोध्ने गर्छन तर पार्टी कार्यालयमा भने जानकारी नै हुँदैन’, पार्टी केन्द्रीय कार्यालय स्रोतले भन्यो । स्रोतका अनुसार केन्द्रीय कार्यालयको नाममा दाहालले प्रकासित गरेको राजनीतिक प्रतिवेदन भने अझै केन्द्रीय कार्यालयलाई नै जानकारी छैन ।
कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको प्रकाशन केन्द्रीय कार्यालयलाई जानकारी विना नै प्रकाशन गरेर आफू निकटका नेताहरु मार्फत सातवटै प्रदेशमा पठाइएको थियो ।




