काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले जंगलमा सैन्य गतिविधि गरिरहेको सूचना आएसँगै प्रधानमन्त्री केपी ओलीले अचानक बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएपनि विप्लव समूहले सोमबार (भोलि) देशभर विभिन्न कार्यक्रम गर्ने र सैन्य प्रदर्शनसमेत गर्ने सूचनासँगै प्रधानमन्त्रीले सुरक्षा निकायका अधिकारीहरुसँग सुरक्षा व्यवस्थाबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानीरिक्षक शैलेश क्षेत्री थापा, सशस्त्र प्रहरीका महानीरिक्षक शैलेन्द्र खनाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग सुरक्षा ब्रिफिङ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका हुन् । छलफलमा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतको दाबी छ ।
प्रतिबन्धित विप्लव समूहले सातौं पुनर्गठन दिवस मनाउने तयारी गरिरहेको छ । योसँगै प्रहरीले राजधानीलगायत देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रधानमन्त्रीलाई भेटेर आएपछि तीनवटा सुरक्षा निकायका प्रमुखहरु गृहमन्त्री रामबहादुर थापा बादलसँग गृह मन्त्रालयमा छलफल गरेका थिए । गृह मन्त्रालयमा भने तीनवटा सुरक्षा निकायका प्रमुख मात्रै पुगेर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँगको नियमित भेटघाट भनिए पनि आन्तरिक किचलो रहेको नेकपा वृत्तमा हल्लीखल्ली मच्चिएको छ ।




