काठमाडौं । नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ । यो सम्झौतापछि माओवादी मूलधारको राजनीतिमा आएको थियो ।
२०६३ मंसिर ५ गते आजकै दिन नेपाल सरकारका तर्फवाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीतर्फबाट पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए । प्रचण्ड अहिले नेकपाको कार्यकारी अध्यक्ष छन् । उनी दुईपटक प्रधानमन्त्रीसमेत भइसके । माओवादीबाटै डा.बाबुराम भट्टराई पनि प्रधानमन्त्री बने । त्यसयता पाँचजना कम्युनिस्ट नेता प्रधानमन्त्री बने । तर, अझै पनि संक्रमणकालीन मुद्दा टुंगिएको छैन ।
सरकार र माओवादीबीच भएको सम्झौतापछि नेपालमा जारी १० वर्षे शसस्त्र द्वन्द्वको औपचारिक अन्त्य भएको हो । जसको जगमा नेपालमा २४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य भएको थियो । नेपालमा संविधानसभामार्फत संविधान पनि जारी भयो ।
राजनीतिक बेमेल, अन्तरपार्टी संघर्ष र आपसी अविश्वासको अन्त्य गर्दै सहमति, सहकार्य र एकताका साथ केही समय सरकार सञ्चालन भए पनि अझै मुलुक सही दिशामा हिँड्न सकेको छैन । हिजो द्वन्द्वका पीडितले अझै न्याय पाउन सकेका छैनन् । पीडकले राज्यको संरक्षण पाइरहेको छ ।
तत्कालीन माओवादी अहिले नेकपा बनेको छ । तत्कालीन एमालेसँग पार्टी एकता भएपछि नेकपा बने पनि अहिले त्यहाँ फुटको बीजारोपण भइसकेको छ । प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच सम्बन्ध बिग्रिँदा फेरि पनि संक्रमणकालीन मुद्दा ब्यूत्याउने खतरा बढेको विश्लेषण गर्न थालिएको छ ।




