रिबन

वामदेवलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय लिन बालुवाटारको ‘ग्रिन सिग्नल’

काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद र मन्त्री बन्नबाट रोक्न नमिल्ने गरी बाटो खोलिदिएपछि नयाँ तरंग उत्पन्न भएको छ । पार्टीको बैठक बोलाउने कि नबोलाउने भन्ने विषयले विग्रह आउने देखिएका बेला गौतमको पक्षमा निर्णय आएको हो ।
सर्वोच्चको यो निर्णयसँगै सबैभन्दा धेरै हर्षित प्रधानमन्त्री केपी ओली पक्ष भएको छ । अदालतको आदेश आएलगत्तै प्रधानमन्त्री ओली र उनी पक्षका नेताहरुले गौतमलाई बधाई दिइरहेका छन् । ओली पक्षका नेताहरुको बधाईको ओइरोले अब वामदेव सरकारमा सामेल हुने र नेकपाको अर्को पक्ष प्रचण्ड, माधव नेपाल समूह कमजोर हुने विश्लेषण गर्न थालिएको छ ।
प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन आजसम्मको समय दिएका छन् । त्यसैले आफ्नो इच्छाविपरीत सचिवालय बैठक बसेमा त्यसअघि नै ओलीले कडा कदम चाल्ने संकेत बुधबार संखुवासभा पुगेर दिइसकेका छन् । त्यसैले आजै ओलीले सरकारमा दोश्रो वरियतासहित रक्षा या कुनै मन्त्रालय रोजेर आफूलाई सचिवालयसहित सबैतिर साथ दिन वामदेवलाई आग्रह गर्ने सम्भावना प्रबल रहेको स्रोतले बतायो । त्यसको संकेत बुधबार नै लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिइसकेका छन् । तर, ओलीबाट सधैं धोका मात्र पाइरहेका गौतमले के गर्छन् ? भन्ने अझै स्पष्ट भइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *