रिबन

भारतीय विदेश सचिव मंसिरको दोस्रो साता नेपाल भ्रमणमा आउदै

काठमाडौं । एक वर्ष यता नेपाल भारतको सम्बन्ध विग्रेपछि भारतीय अधिकारीहरुले नेपाल भ्रमणलाई महत्व दिएका थिएनन । रअका प्रमुख सामान्तकुमार गोयलको नेपाल भ्रमणपछि उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउन थालेका छन् । केही दिन अघि भारतीय सेनाध्यक्षको भ्रमण सकिएपछि भारतीय विदेश सचिव हर्षवद्र्धन सिङ्ग्रला नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपालसंग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल भ्रमणमा आउने भएका हुन् । भारतीय सेनाअध्यक्ष मुकुन्द नरवणे र भारतिय गूप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणपछि सिङ्ग्रलाको नेपाल भ्रमणको तयारी भएको हो । यद्यपी यसको आधिकारीक पुष्टि भने दुवै देशका परराष्ट्रमन्त्रालयले गरेका छैनन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले केही समयदेखि बिग्रिएको नेपाल भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको दावी गरेको छ ।

भारतले पछिल्लो समय नेपाललगायत दक्षिण एसियाका अन्य मुलुकहरुसंग सम्बन्ध सुधारका लागी पहल गरिरहेको छ । विदेशसचिवमा नियुक्त भएपछि सिङ्ग्रलाको यो पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा उनले परराष्ट्र सचिव भरत पौडेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनको भ्रमण बेला भारत र नेपाल दुबै देशबीच देखिएको सीमा समस्याबारे समेत छलफल हुनेछ । त्यसका साथै दुवै पक्षले महाकाली नदीको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका साथै अन्य जलविद्युत आयोजनाहरूलाई अघि बढाउने विषयमा छलफल केन्द्रित हुनेछ ।

नेपालबाट समेत परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भ्रमणको तयारी सुरु भएको स्रोतले जानकारी दिएको छ । भारतले कालापानी क्षेत्रलाई समेटेर नयां राजनीतिक नक्सा सार्वजनिक गरेसंगै नेपाल भारतबीच सम्बन्ध बिग्रेको थियो । नेपालले लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि भारतले त्यसमा असन्तुष्टि जनाउंदै आएको थियो । त्यसयता दुवै देशको सम्बन्ध तनाबपूर्ण बन्न पुगेको थियो । तर,केही समयअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन बार्ता भएपछि दुवै देशका अधिकारीहरु समस्या समाधानका लागी अग्रसर भएका हुन् ।

प्रधानमन्त्री ओलीले यहि साता एक टेलिभिजन कार्यक्रममा अन्र्तवार्ता दिंदै नेपालको भुमि फिर्ता ल्याएरै छोड्ने दावी समेत गरेका थिए । उता भारतले पनि नेपालसँगको सम्बन्ध सुधार गर्न चाहिरहेका कारण सरकारी अधिकारीहरुलाई नेपाल भ्रमणमा पठाइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *