काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग पार्टीलाई बचाएर लैजानु पर्ने भन्दै हार गुहार गरेका छन् । पार्टी फूटको संघारमा पुगेकाले यसलाई बचाएर लैजानु परेको बताएका हुन् ।
चार घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफू एकताको पक्षमा रहेको दोहोर्याएका थिए । नेपाल लगायतका नेताहरुले प्रधानमन्त्रीको हैसियतमा बढी जिम्मेवारी भएकाले लचिलो भएर पार्टी कमिटीको बैठक राख्न आग्रह गरेको स्रोतको दावी छ । उनले विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेता नेपालसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन लागिपरेको संकेत गरेका थिए । ‘पार्टी मैले फूटाउन लागेको होइन प्रचण्डले नै पटक पटक पार्टी फूटाउछु भनेका हुन्’, ओलीको भनाई उल्लेख गर्दै स्रोतले भन्यो । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान बालुवाटारमा चर्काचर्की भएको थियो । सचिवालयका पाँचजना नेताले दुईदिनभित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपाललाई बोलाएर पार्टी एकता जोगाउन हार गुहार गरेका हुन् ।




