काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध गुटबन्दी भएको भन्दै सचिवालय बैठक बोलाउन अस्वीकार गरेका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै ओलीलाई लिखित पत्र बुझाउदै बैठक बोलाउन गरिएको प्रस्ताबको जवाफमा पार्टी अध्यक्ष ओलीले आफूविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका हुन् । सचिवालयका बहुमत सदस्यलाई ओलीले उल्टै प्रश्न गरे, ‘गुटबन्दी भयो, बैठक किन बस्ने ?’
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए ।
उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् । प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए ।
पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघन्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका हुन् ।




