काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद चर्कदै जाँदा पूर्व एमालेहरु मिल्ने संभावना बढेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई मिल्न नदिन अनेक प्रयत्न गरिरहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहबीच मेलमिलाप हुने अवस्था देखेपछि आफै ओलीसँग मिल्न जाने गरी तयारी गरेका छन् । ओली – नेपाल मिल्ने अवस्था देखिएपछि शुक्रबार राखेको पार्टी सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गराए भने शनिवार ओलीलाई भेटेर सचिवालय बैठक राख्न आग्रह गरे । प्रायः आफ्नै निवासमा आफूपक्षीय नेताहरुसँग छलफल राख्ने गरेका कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबारको बैठक भने पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखेका थिए ।
सचिवालयका बहुमत सदस्यको सहभागिता रहेको सो अनौपचारिक बैठकले पार्टीको शीर्ष तहको विवादलाई नयाँ चरणमा प्रवेश गराएकोरुपमा पनि हेरिएको छ । यसो गर्दा उनले विवादलाई पार्टीका औपचारिक फोरमहरुमा संस्थागत गरेको जस उनले लिन चाहिररहेका छन् । अध्यक्ष ओली पक्षले यसलाई पार्टीभित्र समीकरण तिब्र पार्ने कदम भनी आरोप लगाएको छ भने अर्काे पक्षले पार्टीका एजेन्डाहरुलाई पार्टी कमिटीहरुबाट छलफल र निर्णय गर्ने प्रयास भएको दाबी गरेको छ। नेकपाको कोर अफ द लिडरसिप भनिने नौ–सदस्यीय सचिवालयका पाँच नेता सो बैठकमा सहभागी भए भने अन्य चार जना अनुपस्थित रहे ।
शनिवार भेटघाट हुँदा पनि ओली र दाहाल आमुने सामुन्ने हुने गरी भेटघाट भएजस्तो आभाष हुन्थ्यो । पछिल्लो समय प्रधानमन्त्री ओली पक्षले प्रचण्डलाई कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालनको उनको मुख्य जिम्मेवारीमा केन्द्रित हुनुको साटो सरकारका काम कारवाहीमा बढी चासो तथा हस्तक्षेप गरेको भनी लगाएको आरोपको खण्डन गर्नु बैठक राख्नुको अर्को रहेको प्रचण्ड पक्षको भनाइ छ । शुक्रबार र शनिवार दुवै रुपमा अनौपचारिक छलफलमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए भने प्रधानमन्त्री तथा अध्यक्ष ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भए । प्रचण्डनिकट नेताहरुले प्रधानमन्त्री ओली पक्षबाट प्रचण्डलाई लगाउँदै आएको आरोपको जवाफ दिन र विवादका विषयलाई संस्थागत ढंगबाट सम्बोधन गर्ने प्रयासस्वरुप सो बैठक पहिलेजस्तो निवासमा नगरी पार्टी कार्यालयमा आयोजना गरिएको बताए। ‘सचिवालयका पाँच जना सदस्यहरु खुमलटार (प्रचण्ड निवास) वा कोटेश्वर (माधव नेपाल निवास) मा बसेर पनि भोली प्रधानमन्त्रीलाई समुहिक रुपमा भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गर्न सक्थे, त्यसमा कुनै समस्या नै थिएन,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने ‘तर स्थायी कमिटीको पछिल्लो बैठकले गरेका निर्णय कार्यान्वयन प्रक्रियामा देखिएको विवादको विषयलाई संस्थागत रुपमै अघि बढाउनका लागि यो प्रयास गरिएको हो।’ केहि दिनदेखि पार्टी कमिटीहरुमा बहुमतमा रहेका प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले कमिटीहरुका बैठक राखेर सबै कुरा त्यहिँ छलफल गरेर निर्णय गर्न जोड दिइरहेका छन् भने ओली पक्षले अहिले त्यसो गर्न नसकिने बताउँदै आएको छ ।
ओलीले एकता महाधिवेशनसम्म कमिटीमा बहुमत र अल्पमतको आधारमा निर्णय गर्न नसकिने बताएका छन्।ओलीपक्षीय नेताहरुले पार्टी एकता गर्दा मुख्यतः दुई अध्यक्षबीचको सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने समझदारी भएअनुरुप गर्नुपर्ने अडान लिँदै आएका छन्।तर अर्को पक्षले कम्युनिष्ट पार्टीमा कमिटी प्रणाली नै निर्णायक हुनुपर्ने तर्क गर्दै आएको छ। वरिष्ठ नेता नेपालले शुक्रबार पनि सोहि कुरामै जोड दिए ।‘सबै समस्याको समाधान पार्टी कमिटीभित्रैबाट निस्कन्छ, बाहिरबाट निस्कँदैन। कमिटीमा छलफल गरेरै, त्यहिँबाट नै समाधान खोज्नुपर्छ,’ उनले बैठकपछि सञ्चारकर्मीसँग भनेका थिए । तर ओली पक्षले भने शुक्रबार पार्टी कार्यालयमा भएको बैठकलाई पनि खुमलटार वा कोटेश्वरमा हुने बैठककै निरन्तरताको रुपमा अर्थ्याएको छ ।
हालैको एक छलफलमा प्रधानमन्त्री ओलीले समेत प्रचण्डलाई कार्यकारी अध्यक्ष भएको एक वर्ष हुन लागेको हुँदा पार्टीको कुन कुन विषयमा के कति काम भयो त भनी सोधेका थिए। त्यही छलफलमा प्रचण्डले ओलीलाई आफूले सचिवालयका बैठक राखेर पार्टीका मामिला अघि बढाउने बताएका थिए । तर प्रधानमन्त्री ओलीले आफ्नो सहमतिबिना सचिवालयको औपचारिक बैठक राखेमा त्यहि बैठक नै पार्टी विभाजनको सुरुवातको बिन्दु हुने चेतावनी दिएका थिए । त्यसपछि प्रचण्डले त्यसबारे छलफल गर्न अनौपचारिक बैठक बोलाउने जानकारी दिएका थिए । यसरी ओली नेपाल समूहलाई एक ठाउँमा आउन नदिने रणनीतिमा प्रचण्डले नेताहरुलाई झुलाउने अवस्था सिर्जना गरिरहेका छन् ।




