काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ जना सचिवालय सदस्यले ओलीलाई तत्काल बैठक बोलाउन लिखित माग गरेका हुन् । तर, प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार यस विषयमा ओलीले कुनै प्रतिक्रिया दिएनन् ।
यसअघिसम्म अध्यक्ष ओलीसँग अर्का अध्यक्ष प्रचण्ड एक्लाएक्लै भेट गर्दै आएका थिए । उनले पार्टीको बैठक बोलाउनेबारे पटक पटक अध्यक्ष ओलीसँग परामर्श गर्दा पनि सुनुवाई नभएको शुक्रबारको अनौपचारिक बैठकमा नेताहरुलाई जानकारी गराएका थिए ।
यसअघि भदौ २६ गते सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले पार्टीको सांगठनिक एकता र पार्टीको बाँकी काम पूरा गर्ने तयारीस्वरुप ठोस प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । दुई जना अध्यक्षले पार्टीको बाँकी सांगठनिक एकताको काम असोज मसान्तभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए । तर अध्यक्षबीचको तिक्तताले नियमित बैठक बस्न नसकेपछि त्यो काम पूरा भएको छैन ।
सचिवालयको बैठक बसी पार्टीको बाँकी कामबारे छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राख्दै आएका छन् । आजको बैठकमा पनि पार्टीको आन्तरिक समस्या समाधान तथा सरकारले गर्ने नियुक्तीको विषयबारे समेत छलफल भएको बताए । पछिल्लो कर्णाली विवादले दुई अध्यक्षबीच झन दूरी बढाउने काम गरेपछि त्यस विषयमा पनि सचिवालय बैठक गरेर समस्याको समाधान खोजिनुपर्ने बुझाई नेताहरुको छ ।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठको शनिबार बिहान पार्टी मुख्यालय धुम्बाराहीमा भएकाे अनौपचारिक छलफलपछि ओलीलाई भेट्न उनीहरु बालुवाटार पुगेका थिए ।




