काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विवाद उत्कर्षमा पुगेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पूर्व माओवादीका नेताहरु भेला भएका छन् । एकता प्रकृया गम्भीर संकटमा परेपछि प्रचण्डले आफू पक्षीय नेताहरुसँग भेटघाट गरिरहेका छन् ।
खुमलटार स्रोतका अनुसार उनी अहिले उनीहरु छलफलमा व्यस्त रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी अलग अलग गरौ भनेपछि आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाएका थिए । पूर्वमोओवादी कोटामा स्थायी समिति सदस्य भएका सबै नेताहरुलाई परामर्शका लागि काठमाडौ बोलाइएर अहिले छलफल थालेका हुन् ।
कर्णालीमा मुख्यमन्त्रीविरुध्द आफ्नै दलका नेताले अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको सँघारमा पुगेको छ । यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका थिए ।
यता नेकपाभित्रको आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘वादल’ विवाद मिलाउन वालुवाटार खुमलटार दौडधुप शुरु गरेका थिए । आइतबार साँझ उनले विवाद सुल्झाउने प्रयास गरेका छन् । उनले दुवै अध्यक्षलाई भेटेर दुई वटा समूह बनाएर पार्टी अलग गराउने विषयमा छलफल नगर्न दुवै अध्यक्षलाई आग्रह गरेका छन् । आइतबार साँझ दुवै अध्यक्षलाई भेटेर उनले चार वटा प्रस्ताव राख्दै वालुवाटार र खुमलटारमा गुटको भेला नगर्न र पार्टी पूmटाउने हल्ला नगर्न आग्रह गरेका हुन् ।
आइतबार साँझ वालुवाटार र खुमलटार पुगेर उनले दुवै अध्यक्षलाई चार वटा प्रस्ताव राखेका छन् । स्थायी कमिटी बैठकको निर्णय अक्षरस पालाना गर्नुपर्ने, दुवै अध्यक्षले गुटगत भेला रोक्नु पर्ने, स्थायी कमिटीको निर्णय पालाना गर्ने भन्दा उल्लंघन गर्ने परिपाटी रोक्नु पर्ने, निर्णय कार्यान्वयनमा दुवै अध्यक्षको दायित्व पूरा गर्नु तथा सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय कमिटी जस्ता बैठकबाट विवाद निरुपण गर्नु प्रस्ताव राखेका छन् ।
आइतबार विहान खुमलटार भेलामा पुगेका गृहमन्त्री थापाले त्यहाँ पनि पार्टी एकताको पक्षमा आफ्नो धारणा राखेको थिए । उनले पार्टी एकतालाई बचाएर लैजानु पर्ने भन्दै शीर्ष नेताहरुलाई संयम अपनाएर जान आग्रह गरेका थिए ।




